काठमाडौं । साताको तेस्रो कारोबारका दिन शेयर बजारमा करेक्सन आएको हो । लगातार तीन दिनसम्म सुधार देखिएको सेयर बजारमा मंगलवार सामान्य करेक्सन देखिएको छ। बजारमा आएको निरन्तर वृद्धिका कारण नाफा बुक गर्ने लगानीकर्ताहरू हावी हुँदा सूचकमा सामान्य गिरावट आएको हो।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईँ नियुक्ति भएको पहिलोदिन नै शेयर बजार घटेको छ ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.५७ अकंले २६७७.५५ बिन्दुमा कायम भएको छ। आज ३२० कम्पनीको १ करोड ६ लाख ७० हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७९ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज बैंकिङ समुहको ०.७४, विकास बैंक ०.९५, फाइनान्स १.८४, होटल तथा पर्यटन १.७४, हाइड्रोपावर ०.९९, लगानी ०.४४, जीवन बीमा ०.६३, उत्पादन ०.५२, माइक्रोफाइनान्स १.१०, निर्जीवन बीमा ०.३८ र अन्य समूह १.३९ प्रतिशत घटेको छ।
यसदिन १२ उपसूचक राताम्य भएका छन्। ३ दिनमा नेप्से सूचक ११०.३८ अंकले बढेको थियो। यसआधारमा अल्पकालीन कारोबारीहरुले नाफा बुक गरेको अुनमान गर्न सकिन्छ ।
बजार निरन्तर घट्ने वा बढ्नेमात्र गर्दैन । तलमाथि भइरहन्छ । यसआधारमा आम लगानीकर्ताले अपेक्षा गरे अनुसार भने अझै पनि बजारले गति लिन नसकेको देखिन्छ । सेयर बजारको मुख्य निर्धारणकर्ता बैंक ब्याजदर रहेको छ, जुन हाल निकै तल्लो विन्दुमा पुगेको छ।
बैंकिङ प्रणालीमा तरलता अधिक रहेकाले सेयर बजारमा दीर्घकालीन सकारात्मक प्रभाव पर्ने अनुमान गरिएको छ। सुधारको क्रममा देखिएका साना करेक्सनलाई स्वाभाविक मान्दै बजार अझै माथि जाने सम्भावना रहेको जानकारहरुको भनाई छ ।
नेप्सेमा बेलाबखत आउने करेक्सनलाई राम्रो मानिन्छ। यो बजारको सामान्य नियम नै हो । यद्यपि, समग्र ट्रेन्ड के छ भन्ने सबैभन्दा महत्त्वपूर्ण कुरा हो । मुख्य कुरा बैंक ब्याजदर, तरलता, अर्थतन्त्रको अवस्था तथा सेयर बजारप्रति सरकार र नियामकले लिने नीति कस्तो छ, त्यसतर्फ ध्यान दिनुपर्ने जानकारहरू बताउँछन् ।
साथै लामो समयदेखि रिक्त रहेको नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को सीईओमा चूडामणि चापागाईँ नियुक्ति भएसँगै यथावत् रहेका समस्या तत्काल समाधान हुँदै जाँदा बजारले थप सुधारको गति ल्याउने जानकारहरूको भनाई छ ।
































