काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) को प्रतिवेदनले नेपाल थप भ्रष्ट भएको देखाएको छ।
यसअघि ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार अवधारणा सूचांकमा नेपाल ३५ औँ स्थानमा थियो भने थप भ्रष्ट बन्दै ३४ औँ स्थानमा आइपुगेको छ ।
भ्रष्टाचार अवधारणा सूचांक २०२४ मा नेपालले १०० मा ३४ अङ्क प्राप्त गरेको छ । सो नतिजाले भ्रष्टाचार अझ प्रभावकारी रूपले बढ्दै गएको देखाएको छ ।
दक्षिण एसियाली राष्ट्रहरूमध्ये भुटानले ७२ अङ्ग, भारतले ३८ अङ्क, मालदिभ्सले ३८, नेपालले ३४, श्रीलङ्काले ३२, पाकिस्तानले २७, बङ्गलादेशले २३ र अफगानिस्तानले १७ अङ्क प्राप्त गरेका छन् । छिमेकी मुलुक चीनले ४३ प्राप्त गरेको छ ।
१८० देश सम्मिलित यस सूचांकमा डेनमार्क विगत ७ वर्षदेखि लगातार ९० अङ्क प्राप्त गरी विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको रूपमा रहेको छ । साउथ सुडान ८ अङ्क प्राप्त गरी यस वर्ष सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रूपमा अङ्कित भएको छ ।
सन् २०२४ मा विश्वका दुई तिहाइ देशहरूले १०० मा ५० भन्दा कम अङ्क प्राप्त गरेका छन्। सर्वेक्षण गरिएका १८० मुलुकको औसत अङ्क यस वर्ष पनि ४३ नै कायम रहेको छ ।
कम अङ्क प्राप्त गर्नेमा कमजोर र द्वन्द्व प्रभावित मुलुकहरू रहेका छन् । विश्वव्यापी चासोको विषय रहेको जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय स्तरमा सक्रिय रहेका मुलुकहरूले समेत भ्रष्टाचार अवधारणा सूचांक सर्वेक्षणमा कम अङ्क प्राप्त गरेको देखिएको छ ।


































