काठमाडौँ– नेपाललाई ओलम्पिकमा पहिलो पदक दिलाएकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।
आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी गोवर्धनलाई स्वागत गर्न हजारौँ समर्थकहरू विमानस्थल पुगेका थिए। फ्रान्समा जारी पार ओलम्पिकमा के–४४ क्याटगोरी अन्तर्गत महिला ५७ केजीमुनि समूहको पलेशले नेपाललाई पहिलो पदकका रूपमा कास्य पदक जितेकी थिइन्।
अहिले पलेशसहितको नेपाली टीमलाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीद गेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुर्याइनेछ।
पलेसाले गत शुक्रवार राति कास्य जितेकी थिइन्। कुनै पनि किसिमको ओलम्पिक खेलकुदमा नेपालले जितेको यो पहिलो पदक हो। सरकारको पुरस्कारसम्बन्धी नियमावलीअनुसार पलेसाले ६५ लाख रुपैयाँ प्राप्त गर्ने पक्का भइसकेको छ।
ऐतिहासिक पदक विजेता पलोशासहित नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङलगायतले स्वागत गरेका थिए।






































