काठमाडौँ । यस अघि उतारचढाव देखिएको नेप्सेमा आज सामान्य सुधार आएको छ । बजारले बढ्ने र फेरि घट्ने क्रम दोहोराएको छ, जसले यसबेला निश्चित दिशा तय गर्न नसकेको संकेत गर्दछ ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.७३ अकंले बढेर २६७१.८० बिन्दुमा कायम भएको छ।
अघिल्लो दिनको भारी गिरावटपछि आज बजार सामान्य सुधारमा आउँदा लगानीकर्तामा केही आशा जगाएको छ । आज ३ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । ६ वटा समूहका सूचक बढेका छन् । चैत मसान्तको प्रभाव कारण बजारले खासै गति लिन नसकेको विश्लेषकहरूको धारणा छ ।
वैशाख लागेपछि सेयर बजारमा उत्साह थपिनेमा लगानीकर्ता आशावादी देखिएका छन् । यसै गरी, गभर्नर नियुक्ति बाँकी रहेकाले केही लगानीकर्ता भने त्यसमा पनि ‘वेट एन्ड वाच’ को अवस्था रहेको विश्लेषणहरू बजारमा आइरहेका छन् ।
केन्द्रीय बैंकले लिने नीतिले सेयर बजारमा प्रत्यक्ष प्रभाव पर्ने भएकाले पनि कतिपयले सेयर बजारको उतारचढावलाई गभर्नर नियुक्तिसँग जोडेर हेरेका हुन् । समग्रमा भने सेयर बजार साइडवेजमा देखिएको छ ।
आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५९ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ४० करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २३ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
































