काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्यालेष्टिनीमाथि इजरायली जनसंहारविरुद्ध प्रमुख सहरमा एक महिना हस्ताक्षर अभियान चलाउन निर्देशन दिएको छ ।
पुस १ देखि एक महिनासम्म हस्ताक्षर अभियान चलाउन पार्टीका सबै जवस र मोर्चा सङ्गठनलाई महासचिव देव गुरुङले निर्देशन दिएका छन् । गत मङ्सिर २७ गते बसेको प्यालेष्टिनीमाथि इजरायली जनसंहार विरुद्ध संयुक्त अभियानको बैठकले मङ्सिर २५ गते रत्नपार्कस्थित शान्तिबाटिका हस्ताक्षर अभियान सुरु गर्ने निर्णय गरेको थियो ।
प्रदेश राजधानी लगायत देशका प्रमुख सहरमा हस्ताक्षर अभियान चलाउन महासचिव गुरुङले परिपत्र नै पठाएका छन् ।
देशव्यापी अभियान चलाउनुको उद्देश्यबारे थप प्रस्ट पार्दै महासचिव गुरुङले भने–‘इजरायलले संयुक्त राष्ट्रसङ्घको बडापत्र, अन्तर्राष्ट्रिय कानुन, मानव अधिकारको गम्भीर उल्लङ्घन गरेकाले इजरायलमाथि दबाब दिन हामीले हस्ताक्षर अभियान चलाएका हौँ । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी) ले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी गर्दा समेत उनले प्यालेष्टाइनीमाथिको जनसंहार रोकेका छैनन् ।
गुरुङले उद्देश्य मध्यपूर्वमा शान्ति स्थापना गरी मानवताको रक्षा गर्नु रहेको स्पष्ट पारे । यस अभियानमा सत्ताधारी कांग्रेस, एमाले, जपा, विपक्षी रास्वपा र राप्रपा बाहेक सबै दल सहभागी भएको उनको भनाइ छ । जनसंहारविरुद्ध देशभर हस्ताक्षर गरेर नेपाल स्थित संयुक्त राष्ट्र सङ्घीय कार्यालयमा कार्यक्रम रहेको उनले बताए ।


































