काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा फरवार्ड माइक्रोफाइनान्सको लघुवित्तको खुद नाफा ६८.९६ प्रतिशतले घटेको छ । उक्त समीक्षा अवधिमा उसले जम्मा ३ करोड ६१ लाख रुपैयाँको खुद नाफा कमाएको हो । गत वर्षको यसैअवधिमा यसले ११ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा भने सामान्य बढेको छ । कम्पनीको खुद ब्याज आम्दानी ०.४० प्रतिशतले बढेर ८८ करोड १७ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष यसले ८७ करोड ८२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यसको सञ्चालन नाफा पनि ५.७८ प्रतिशतले बढेर १८ करोड ५८ लाख रुपैयाँ कायम भएको छ । यसअवधिमा कम्पनीको खराब कर्जा घटेको छ । गत वर्ष ८.२६ प्रतिशत रहेको यसको खराब कर्जा यो त्रैमासमा घटेर ५.८५ प्रतिशत भएको छ ।
यता, कम्पनीको नाफासँगै प्रतिशेयर आम्दानी भने घटेको छ । वार्षिक प्रतिशेयर आम्दानी १० रुपैयाँ ६९ पैसाले घटेर ४ रुपैयाँ ३ पैसा मा सीमित भएको छ । गत वर्ष प्रतिशेयर आम्दानी १४ रुपैयाँ ७२ पैसा थियो । यसको प्रतिशेयर नेटवर्थ २५३ रुपैयाँ ६२ पैसा रहेको छ ।






































