काठमाडौं । बीमा प्राधिकरणका अध्ययक्ष सुर्य प्रसाद सिलवाल भ्रष्टाचारको आरोप लागेर निलम्वनमा परेसँगै नेतृत्वविहिन भएको प्राधिकरणबाट दैनिक प्रशासनिक कामहरु सुचारु भएका छन् ।
प्राधिकरणका बरिष्ठ निर्देशक कमल प्रसाद रेग्मीले सबै दैनिक प्रशासनिक कामहरु अघि बढाएका हुन् । प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै निलम्वनमा परेपछि प्राधिकरण नेतृत्व विहिन भएको थियो ।
प्राधिकरणमा कार्यकारी निर्देशन समेत नभएकोले केही अन्योलता रहेकाले रेग्मीले नियमित, दैनिक प्रशासनिक कामहरु अघि बढाइरहेका प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार बीमा प्राधिकरण कर्मचारी बिनियमावलीमा रहेको स्पष्ट व्यवस्था बमोजिम नै सबैभन्दा माथिल्लो पदमा रहेको व्यक्ति कार्यालय प्रमुख हुने व्यवस्था रहेकोले रेग्मीले नेतृत्व सम्हालेका हुन् ।
उता, सरकारले पनि बीमा प्राधिकरणमा अध्यक्ष र कार्यकारी निर्देशक दुवै रिक्त भएपछि तत्कालका लागि कुनै नीतिगत निर्णय गरेर काम चलाउ अध्यक्ष पठाउने तयारी गरिरहेको अर्थमन्त्रालयले जनाएको छ ।


































