काठमाडौँ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा ‘डाइभर्सन’ बगाउँदा राजमार्ग अवरुद्ध भएको छ। बुधवार बिहान आएको बाढीमा डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।
दुम्किवास स्थित बिनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएको हो । उक्त डाइभर्सन बगाएसँगै बिहीबार बिहानबाट पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो।
डाइभर्सन गरिएको स्थान बाढीले बगाएपछि साना तथा यात्रुवाहक सवारीलाई होङ्सी गेट हुँदै सर्दीतर्फको बाटोबाट सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।
ठूला र मालबाहक सवारी साधन भने रोकिएका छन्। बगाएको ठाउँमा डाइभर्सन पुनः बनाउने प्रयास भइरहेको छ। बाढी नरोकिएकाले आवागमनका निम्ति तत्काल केही गर्न सकिने अवस्था नभएको प्रहरीको भनाई छ ।
विनयी खोलाको पुल भाँचिएपछि गएको पाँच महिनौँदेखि खोलामाथि डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो। यहाँ बाढीले पटक पटक डाइभर्सन बगाउँदै आएको छ।


































