काठमाडौँ । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पदभार ग्रहण गरेका छन्। उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बसेको मन्त्रिपरिषदको बैठकले सोमवार बीमा ऐन २०७९ को दफा ८ को उपदफा (९क) बमोजिम आगामी चार बर्षको लागि अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नवनियुक्त अध्यक्ष ओझाले आजै अर्थ मन्त्रालयमा शपथ ग्रहण गरेपछि कुपन्डोलस्थित बीमा प्राधिकरणमा पदभार ग्रहण गरेका छन्। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उनलाई शपथ ग्रहण गराएका थिए।
प्राधिकरणमा कार्यभार समाल्दै नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले सरकारले विश्वास गरेर दिएको जिम्मेवारी पूरा गर्न आफ्नो सम्पूर्ण ध्यान केन्द्रित हुने बताए ।
अध्यक्ष ओझाले बीमा क्षेत्रमा देखिने गरेर परिवर्तन आएको महशूस हुने गरी सबैको सहकार्यमा कार्यान्वयनयोग्य कार्ययोजना बनाएर काम गर्ने जानकारी दिए ।

अध्यक्ष ओझाले बीमा क्षेत्रलाई नियमित, प्रतिस्पर्धी र पारदर्शी बनाउँदै बीमितको हित संरक्षण, प्राधिकरणका विचाराधीन मुद्दाहरूको शिघ्र फस्र्यौट र बीमकको वित्तीय स्वास्थ्यलाई बलियो बनाउन प्राथमिकताका साथ अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
तर यता बीमा प्राधिकरण कै इतिहासमा सबैभन्दा कान्छो उमेरले जम्मा ३३ बर्षका ओझाको नियुक्ति बीमा ऐन बिपरित भएको भन्दै अध्यक्ष नियुक्ति खारेजीको माग गर्दै अदालतमा मुद्दा हाल्ने तयारी गरिरहेको बिशेष स्रोतले आर्थिक भ्वाईसलाई जनाएको छ।
बीमा ऐन २०७९ को दफा ८, उपदफा १ खण्ड (क) बमोजिमको योग्यता नै नपुगेको व्यक्तिलाई अध्यक्षमा नियुक्ती गर्ने निर्णय गरेको भन्दै नियुक्ती प्रति असन्तुष्टि जनाएका केहि व्यक्तिले बिहिवार अदालत खुले लगतै मुद्दा हाल्ने तयारी गरिरहेको जनाएको छ।


































