काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी क्षमता भएपनि लगानीयोग्य क्षेत्रमा माग नहुँदा राष्ट्र बैंकमा लगातार तरलता थुप्रिएको छ। केन्द्रीय बैंकसँग हालसम्म ६ खर्ब ९३ अर्ब रुपैयाँभन्दा बढी रकम थुप्रिएको छ ।
तरलता घटाउन केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर करिडोरको सीमा घटाएर बैंकदर ६.५ प्रतिशतबाट ६ मा झारेको छ ।
किनकि (हिजो) आइतबार मात्र २० वटा बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा ३ खर्ब ४३ अर्ब रुपैयाँ भन्दा बढी अल्पकालीन निक्षेप राखेका छन्। जसमा ५० अर्ब निक्षेप संकलन उपकरणमा र २ खर्ब ९३ अर्ब स्थायी निक्षेप सुविधा (एसडीएफ) मार्फत राखिएको छ।
हाल बैंकहरुसँग ९ खर्ब ५० अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको देखिएको छ, तर त्यसको ७० प्रतिशत जति राष्ट्र बैंकमै फिर्ता गएको छ। कर्जा माग कमजोर हुँदा बैंकहरुले कर्जाको सट्टा राष्ट्र बैंकमा पैसा राखेर न्यून ब्याजदर लिन बाध्य भएको देखिएको छ ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षमा १२ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको छ, तर माग नबढेसम्म लक्ष्य पुरा हुने सम्भावना कमजोर देखिन्छ। त्यसैले कर्जा बढाउन केही नीतिगत उपाय जस्तै घर कर्जाको सीमा २ करोडबाट ३ करोड, शेयर धितो कर्जा २५ करोडसम्म पुर्याइएको छ।
.

































