काठमाडौँ । अबदेखि वागमती प्रदेशमा दर्ता भएका सवारीधनी कागजी ब्लुबुक बोक्नुपर्ने झन्झटबाट मुक्त हुने भएका छन् । वागमती प्रदेश सरकारले सवारी साधनको ब्लुबुकमा क्यूआर कोड प्रणाली लागू गरेको हो । यसले कागजी ब्लुबुक च्यातिने, भिज्ने वा जल्ने समस्यालाई पनि हटाउने छ ।
तपाईंलाई ब्लुबुकका लागि क्युआर कोड कसरी लिन सकिन्छ भनेर जानकारी दिँदैछौं । सबैभन्दा पहिले बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको आधिकारिक वेबसाइट (molet.bagamati.gov.np) मा लग इन गर्नुहोस् ।
वेबसाइटको होम पेजमा ‘हाम्रा सेवाहरू’ खण्डभित्र रहेको ‘ब्लुबुक क्युआर’ विकल्पमा क्लिक गर्नुहोस् । त्यसपछि खुल्ने पेजको बायाँतिर आफ्नो मोबाइल नम्बर राखी, क्याप्चा कोड भरेर अगाडि बढ्नुहोस् । अनि तपाईंको मोबाइलमा प्राप्त भएको ६ अंकको ओटीपी राखी ‘प्रमाणित’ गर्नुहोस् ।
अब ‘नयाँ ब्लुबुक क्युआर अनुरोध फारम’ खुल्नेछ । त्यसमा नम्बर प्लेटको विवरण, यातायात कार्यालय लट नम्बर, सिम्बोल नम्बर, सवारी नम्बर, गाडीको किसिम राख्नुपर्छ । त्यसपछि सवारी साधनको निर्माता कम्पनी, मोडल, बनेको मिति, सिलिन्डर संख्या, हर्स पावर, चेसिस नम्बर, इन्जिन नम्बर, सवारीको रंग, सिट संख्या, इन्धनको किसिम, प्रयोगको छनौट, प्रज्ञापनपत्र नम्बर र मिति र ब्लुबुक नम्बर पनि प्रविष्ट गर्नुपर्नेछ ।
सवारी दर्ता मिति, नवीकरण म्याद पुग्ने मिति जस्ता विवरण तपाईंको कागजी ब्लुबुकमा उपलब्ध हुन्छन् । व्यक्तिगत विवरण जस्तै नागरिकता नम्बर, राष्ट्रिय परिचयपत्र नम्बर (भएमा) र जन्म मिति पनि राख्नुपर्ने हुन्छ ।
त्यसपछि सवारी धनीको फोटो तथा तोकिए बमोजिम ब्लुबुकका पानाको स्पष्ट फोटो खिचेर अपलोड गर्नुपर्छ । यति गरेपछि क्युआर लिनका लागि कार्यालय पुग्न आफूलाई कुन मिति अनुकूल हुन्छ, त्यो छान्नुहोस् र बुकिङ ‘कन्फर्म’ गर्नुहोस् । आवेदन सफलतापूर्वक दर्ता भएको मेसेज आएपछि बुक गरिएको मितिमा आफ्नो सक्कल ब्लुबुक र परिचय खुल्ने सरकारी कागजात (नागरिकता/लाइसेन्स) सहित छनोट गर्नुभएको यातायात कार्यालयमा जानुपर्नेछ ।
कार्यालयका कर्मचारीले तपाईंको विवरण रुजु गर्नेछन् । रुजु प्रक्रिया सफल भएपछि तत्कालै तपाईंको मोबाइलमा क्यूआर कोडसहितको लिंक प्राप्त हुनेछ । लिंक क्लिक गरेपछि ब्लुबुकको डिजिटल क्यूआर कोड देखिनेछ जसलाई मोबाइलमा सुरक्षित राख्न वा प्रिन्ट गर्न सकिन्छ ।
यसअघि कागजी सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बोक्ने झन्झटबाट मुक्ति मिलेजस्तै अब ब्लुबुक बोक्ने झन्झटबाट पनि मुक्त हुने विभागको अपेक्षा छ । यसले सरकारी सेवालाई डिजिटल माध्यमबाट सहज र छरितो बनाउने अपेक्षा गरिएको छ । इच्छुक सवारी धनीले अनलाइन आवेदन दिन सक्नेछन् ।






































