काठमाडौँ । भारत र पाकिस्तानबीच उत्पन्न सैन्य तनावको प्रभाव धनुषास्थित नेपाल–भारत सीमामा पनि देखिएको । नेपाल–भारत सीमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मीको संख्या बढाइएको छ भने सीमा नाका हुँदै गरिने आवतजावतमा पनि कडाइ गरिएको छन् । जटही र भिट्ठामोड नाकामा सुरक्षा सतर्कता उच्च बनाइएको छ ।
दुवै देशका सुरक्षा निकायहरूले सीमा क्षेत्रलाई संवेदनशील मानेर प्रत्येक व्यक्तिको परिचय र गन्तव्यबारे सोधपुछ गरेपछि मात्र आवतजावत अनुमति दिइरहेको छिन्नमस्ता सशस्त्र प्रहरी ब्यारेकका नायब महानिरीक्षक कृष्ण ढकालले बताए ।
धनुषाको जटही सीमा क्षेत्रमा खटिएका प्रहरी नायब उपरीक्षक प्रमोद रायले भने, “हामीले सुरक्षा सतर्कता बढाएका छौँ । भारत–पाकिस्तानबीचको तनाव हाम्रो देशमा प्रत्यक्ष असर नपरे पनि सीमा क्षेत्र संवेदनशील हुने भएकाले हामी सतर्क छौँ ।”
विशेषगरी नयाँ अनुहार र शंकास्पद गतिविधि भएका व्यक्तिमाथि निगरानी गरिरहेको उनको भनाइ छ । स्थानीयले दैनिक जीवनमा असर परेको बताउँदै चाँडो समाधानको अपेक्षा गरेका छन् । सिमाना आसपासका बजार पनि प्रभावित भएको छ ।
सीमावर्ती सुरक्षाकर्मी र प्रशासनले स्थानीयवासीलाई संयमता अपनाउन आग्रह गरेको धनुषा प्रहरी प्रमुख नरहरि रेग्मीले बताए ।
भारत र पाकिस्तानबीच बढ्दै गएको तनावलाई लिएर रुपन्देहीका सीमामा पनि निगरानी बढाइएको छ । जिल्लाको मूल नाका बेलहियासँगै सहायक नाका लुम्बिनी, भगवान्पुरलगायतका नाकामा सशस्त्र प्रहरीले निगरानी बढाएको छ । बेलहिया नाकामा भने तालिम प्राप्त कुकुरहरु डेजी र सायाबाट ‘डग स्निफिङ’ गराएर मात्र नेपाल प्रवेश गर्न दिइएको छ ।
सीमाबाट हुनसक्ने अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले सीमाको सुरक्षार्थ ‘डग हेण्डलर’सहित यसअघि नै पठाएको ‘डेजी’ र ‘साया’ लाई बेलहिया सीमा नाकामा खटाइएको हो ।
गत अप्रिल २२ मा आतंकवादी समूहले पहलगाम क्षेत्रमा घुम्न गएका २६ पर्यटकहरूको हत्या गरेपछि भारत र पाकिस्तानबीचको तनाव फेरि सतहमा आएको थियो । त्यसकै प्रतिक्रिया स्वरूप भारतले बुधबार बिहान पाकिस्तानमाथि हवाई आक्रमण गरेको थियो । भारतले पाकिस्तानमा रहेका विभिन्न आतंकवादी अखडाहरूमा संयमित रूपले आक्रमण गरेको दाबी गरेको थियो । हवाई आक्रमणबाट कम्तीमा ३० जनाको मृत्यु भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । पाकिस्तानले पनि उक्त घटनाको जवाफ दिइने जनाएको छ ।






































