काठमाडौँ। भारत र पाकिस्तानको तनावले उग्र रूप लिन थालेसँगै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवकोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको उक्त भेटमा भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणका कारण भारत–पाकिस्तानबिच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।
उनले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारबाही गरेको तर जेट हमला गरेको भन्ने प्रचार सत्य नभएको प्रधानमन्त्री समक्ष जानकारी गराएका छन् । राजदूत श्रीवास्तवले उक्त घटनाका सम्बन्धमा नेपाल सरकारबाट बिहीबार सार्वजनिक भएको वक्तत्वप्रति धन्यवाद व्यक्त गरेको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले भेटवार्ताका क्रममा नेपाल विश्व शान्तिका पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतङ्कवादविरुद्ध आफ्नो दृढ अडान अनुरूप उक्त आतङ्कवादी हमलाको भर्त्सना गरेका हुन् । उनले नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने स्पष्ट गरेको सचिवालयले जनाएको छ ।






































