काठमाडौं । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडीका विभिन्न मुलुकहरूमा हालसम्म ७ जना नेपाली पक्राउ परेका छन्।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार संयुक्त अरब इमिरेट्समा तीन, साउदी अरबमा तीन र कुवेतमा एक जना नेपाली पक्राउ परेका हुन्।
इरान र इजरायल तथा संयुक्त राज्य अमेरिकाबीचको द्वन्द्वपछि इरानले यूएईतर्फ ड्रोन तथा मिसाइल प्रहार गरिरहेको सन्दर्भमा खसेका सामग्रीका फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरिएको आरोप उनीहरूमाथि लागेको हो।
यसअघि नै यूएईले यस्ता संवेदनशील सामग्री सार्वजनिक नगर्न आग्रह गरेको थियो।
मन्त्रालयले पनि सर्वसाधारणलाई यस्ता गतिविधिबाट टाढा रहन, फोटो वा भिडियो नखिच्न र सामाजिक सञ्जालमा पोस्ट नगर्न पुनः आग्रह गरेको छ।
यूएईको कानुनअनुसार यस्तो कसुर प्रमाणित भएमा एक वर्षसम्म कैद सजाय, त्यसपछि डिपोर्ट, साथै १ लाख दिरामसम्म जरिवाना हुन सक्ने प्रावधान रहेको छ।

































