काठमाडौं । सर्भेयर संघ नेपालका वर्तमान अध्यक्ष मोहन पुरुष ढकालले बीमा क्षेत्रमा देखिएका अधिकांश विकृती रोक्न गुणस्तरिय सर्भेयरको विकल्प नरहेको दाबी गरेका छन् । आर्थिक भ्वाईससँगको कुराकानीमा उनले कुन तहको सर्भेयरले कस्तो काम गर्ने ? भन्ने कुरा निकै महत्वपूर्ण हुने स्पष्ट पारेका हुन् ।
अध्यक्ष ढकालले आर्थिक भ्वाईससँग भने,‘हामीलाई बीमा प्राधिकरणले जन्माएको हो, अहिले हाम्रो पालन पोषण पनि सोही प्राधिकरणले नै गरिरहेको अवस्था छ । यसमा बीमाको उदेश्य जे हो त्यसमा आधारित भएर नै सर्भेयरले काम गर्ने हो ।
सर्भेयरको काम स्वतन्त्र हुनुपर्छ । त्यही स्वतन्त्र रुपमा काम गर्न नै कुनै पनि ठूला साना घटनामा सर्भेयर खडा गरिन्छ । अहिले भन्ने हो भने मुख्य ‘इन्ट्रेस्ट अफ कन्फ्लिक्ट’ त्यही नै भएको छ ।’
उनले साथमा खुकुरी बोक्ने काम कुनै सुरक्षा गार्डदेखि प्रहरीको हुने भन्दै त्यस्तो खुकुरी आपतकालिन अवस्थामा मात्रै चलाउँन कानुनले छुट दिने प्रावधान विद्यमान रहेको स्मरण गराए । अध्यक्ष ढकालले बीमा क्षेत्रमा भने त्यस्ता खुकुरी, हतियार जस्तो शक्ती बोकेका निकायले नै त्यसको दुरुपयोग गर्नु बिडम्बना बन्न पुगेको गुनासो गरे । उनले सर्भेयरहरुको वगिर्करण नै क,ख,ग,घ गरी चार समूहमा विभाजन गरीएको बताएका छन् । त्यसरी विभाजन भएका सर्भेयरहरुले ‘घ’ समूहमा ट्रेनीको रुपमा प्रवेश गरेर ‘क’ समूहमा पुग्दा विषय विज्ञता र अनुभव हाँसिल गर्ने बताए । तर, हाल बीमा क्षेत्रमा भने भर्खर आएका नयाँ सर्भेयरहलाई नै ‘क’ वर्गको काम र पारिश्रमीक तोक्दा त्यसले भित्रभित्रै गम्भिर समस्या सिर्जना गरेको बताएका छन् ।
उनले आफ्नो उदाहरण दिँदै भने,‘मैले ५० सालमा यो काम सुरु गर्दा म ‘घ’ वर्गको थिए । ५५ सालमा ‘ग’ वर्ग, ६०,६५ सालमा ‘ख’ वर्ग, ७०,७५ सालमा ‘क’ वर्गको उपधि पाए होला । यहाँ त को विज्ञ हो भनेर अरुले आँकलन गर्ने भन्दा पनि स्वमय विज्ञ घोषणा गर्नेहरुका संख्या बढ्दै जाँदा सर्भेयर पेशामा नै केही समस्याहरु देखिएका छन् ।’ अध्यक्ष ढकालले थपे,‘(इम्याचुअर्ड) कच्चा सर्भेयरहरु बजारमा जाँदा ब्राण्डेड (गुणस्तरिय) सर्भेयरको कार्यक्षमता समेत प्रश्न उठ्ने गरेको पाइन्छ । यो निकै आपत्तिजनक विषय पनि हो ।’
खेताला लगाउँने सर्भेयर यो क्षेत्रका धमिरा हुन्
ढकालले हाल चार किसिमका सर्भेयरहरु विद्यमान रहेकोमा प्रकाश पारेका छन् । पहिलो भनेको पूर्ण रुपमा काम गर्ने सर्भेयर । दोस्रो पार्ट टाइम काम गर्ने सर्भेयर । तेस्रो शनिबार वा कुनै बार विषेशमा मात्रै पार्ट टाइम गर्ने सर्भेयर । चौथोमा आफू लाइसेन्स लिने अनि अन्य खेताला खोजेर काममा अराउँने सर्भेयर । उनले बीमा क्षेत्रका सबैभन्दा धेरै विकृती ल्याउँने सर्भेयरमा आफूले लाइसेन्स लिएर अन्य खेतालालाई काममा लगाउँने सर्भेयरहरु रहेको बताएका छन् । उनले त्यस्तै सर्भेयर पेशाको संवेदनशीलता नबुझ्ने केही त्यस्ता व्यक्तीहरुका कारण सर्भेयर पेशा नै बदनाम भएको बताएका छन् । त्यस्ता सर्भेयरहरुलाई उनले बीमा क्षेत्रको धमिराको संज्ञा दिएका छन् ।
साथै, ओभर भ्यालुयसन वा अण्डर भ्यालुयसन गर्दै कुनै पनि घटनाको गम्भिर्यताको आँकलन नहुँनुमा पनि यस्तै कारण मुख्य रहेको अध्यक्ष ढकाललको भनाई छ । उनले बीमा क्षेत्रका की फिगरको रुपमा, क्राउन फिगरको रुपमा रहन चाहने जो कोहीले पनि यस्ता समस्याको समाधान गर्नुपर्ने बताएका छन् । ढकालले पछिल्लो समय केही कडाईका सुई चले पनि त्यसले पूर्णता पाउँने भने बाँकी रहेकोमा जोड दिए । अहिले गडबढी गर्ने सर्भेयरहरुलाई विगो जरिवानादेखि जेल सजायसम्मको प्रावधान बीमा प्राधिकरणले अघि बढाएको छ । उनै ढकालले त्यस्ता प्रावधानहरुलाई कागजमा सिमित नगरी यथाशिघ्र कार्यन्वयनमा ल्याउँनु पर्नेमा जोड दिएका छन् ।


































