National life

विज्ञान, प्रविधि र ग्रामीण विकासका प्रतीक : मन्त्री महावीर पुनको यात्रा

max lubricant tata
Aarthik voice
Aarthik voice
० वर्ष अगाडि|०६ असोज २०८२, सोमबार
1.5kShares
विज्ञान, प्रविधि र ग्रामीण विकासका प्रतीक : मन्त्री महावीर पुनको यात्रा
ncell

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा विज्ञान, शिक्षा तथा प्रविधि मन्त्री नियुक्त भएका महावीर पुन नेपालका प्रतिष्ठित वैज्ञानिक, शिक्षक, सामाजिक उद्यमी र विकासकर्मीका रूपमा परिचित छन्।

२२ जनवरी १९५५ मा म्याग्दी जिल्लाको नाङ्गी गाउँमा जन्मेका पुनले नेपालका दुर्गम हिमाली क्षेत्रहरूमा ताररहित इन्टरनेट प्रविधिको प्रयोग गरी ग्रामीण विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्। उनी नेपाल वायरलेस नेटवर्किङ परियोजनाका संस्थापक र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष हुन् ।

पुन पछिल्लो समय कृषि औजार कारखाना सञ्चालनका लागि आफ्नो आत्मकथा बिक्री गर्दै देशभर यात्रा गर्दै आएका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत शनिबार मात्र उनी काठमाडौँ आएका थिए। किताब बिक्रीबाट जम्मा भएको रकम राष्ट्रिय आविष्कार केन्द्रमा खर्च गर्ने र वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनमा प्रयोग गर्ने उनको उद्देश्य हो। ५२६ दिनमा ४५ जिल्लामा २ लाख ४० हजारभन्दा बढी किताब बिक्री गरिसकेका पुन तिहारपछि पूर्वी नेपालको बाँकी पहाडी जिल्लाहरूमा किताब बेच्ने तयारीमा थिए।

संयोगवश, २३ र २४ गते जेनजी पुस्ताको विद्रोह पछि केपी ओली नेतृत्वको गठबन्धन सरकार ढलेको थियो। सर्वोच्च अदालतकी पूर्वप्रधान न्यायाधीश सुशीला कार्की नेतृत्वमा बनेको अन्तरिम सरकारले पुनलाई मन्त्री नियुक्त गर्‍यो। सोमबार उनले पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गरिसकेका छन्।

पुनले अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञान शिक्षामा स्नातकोत्तर डिग्री प्राप्त गरेका थिए। २००१ मा उनले म्याग्दीको नाङ्गी र राम्चे गाउँमा ताररहित इन्टरनेट सेवा स्थापना गरेर विश्वलाई चकित पारेका थिए। यो परियोजना पछि १५ जिल्लाका १७५ भन्दा बढी गाउँसम्म फैलिएको थियो। यस पहलले शिक्षा, स्वास्थ्य र व्यवसायमा डिजिटल पहुँच सुलभ बनाएको भन्दै उनको प्रशंसा व्यापक रूपमा भइरहेको छ।

२०१२ मा पुनले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरे, जसको उद्देश्य नेपालमा अनुसन्धान र नवप्रवर्तन प्रवर्द्धन गर्नु हो। उनले यसका लागि आफ्नो व्यक्तिगत जमिन दान गरे र १० मेगावाटको जलविद्युत आयोजना निर्माणको योजना अघि बढाए।

उनको कार्य र योगदानलाई अन्तर्राष्ट्रिय रूपमा पनि सम्मान गरिएको छ। २००७ मा रमन म्याग्सेसे पुरस्कार, २०१४ मा इन्टरनेट हल अफ फेम, र २०१४ मा जोनाथन बी. पोस्टेल सेवा पुरस्कार प्राप्त गरेका पुनले आफ्नो जीवनलाई नवप्रवर्तन, सामाजिक उत्तरदायित्व र ग्रामीण विकासमा समर्पित गरेका छन्। राष्ट्रिय स्तरमा पनि उनी कीर्ति रत्न पुरस्कार २०७९ सहित विभिन्न सम्मानबाट सम्मानित भइसकेका छन्।

महावीर पुनको सडकदेखि मन्त्रीसम्मको यात्रा साधारण जीवनशैली र दृढ प्रतिबद्धताको उदाहरण बनेको छ। उनले विज्ञान र प्रविधिको क्षेत्रमा सुधार र नवप्रवर्तनलाई आफ्नो प्राथमिकता बनाउँदै, देशका ग्रामीण र दुर्गम क्षेत्रहरूलाई प्रविधिसँग जोड्ने काममा निरन्तर लागि रहने उद्घोष गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?