काठमाडौँ । दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेसहित अन्य दल मिलेर सरकार बनाएसँगै पुँजी बजारमा सुधारको बाटो खुलेको छ । नयाँ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएपछि नेप्सेमा १६६ अंकले बढेर परिसूचक २४२४.३२ अंक पुगेको छ ।
नेप्सेका अनुसार अर्बौँ रकम बराबर कारोबार भइरहेको छ ।
यसर्थ आगामी शेयर बजारको यात्रा कस्तो होला ? बजारमा देखिएको उत्साह कति दीर्घकालीन रहन्छ होला ? आर्थिक भ्वाईसले केही शेयर विश्लेषक तथा लगानीकर्ताहरूलाई सोधेको छ प्रस्तुत छ उनीहरूको धारणा
राजन लम्साल
नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष समेत रहेका राजन लम्सालले अगामी दिनमा शेयर बजार उकालो लाग्दै जाने र बजारले थप सकारात्मक गति लिने प्रतिक्रिया दिएका छन् ।
उनले आर्थिक भ्वाईससँगको कुराकानीमा नेपाल राष्ट्र बैंकले ल्याउँदै गरेको मौद्रिक नीतिमा रहेको लगानीकर्ताहरूको अपेक्षा व्यक्त गरेका छन्।
लगानीकर्ता लम्सालले मुख्य आफूहरूको दुई वटा माग रहेको बताएका छन् । रिक्स वेटेजलाई १ सय २५ बाट १ सयमा झार्ने लगानीकर्ताहरूको एउटा माग रहेको छ । त्यसरी नै अर्को माग भनेको शेयर कर्जा सीमा हटाउने उनीहरूको माग राख्दै आएका छन् ।
उनले आफ्ना मेजर मागलाई सम्बन्धित निकायले सम्बोधन गर्नेमा आफूहरू आशावादी रहेको पनि बताएका छन् । लगानीकर्ता लम्सालले आर्थिक वर्षको अन्तिममा प्राय शेयर बजारले सकारात्मक लय समात्ने कुरा पनि स्वीकार गरेका छन् । समग्रमा शेयर बजारमा हाल रौनक देखिएको र सरकारको गतिविधिले लगानीकर्तामा थप उत्साह जगाएको बताएका छन् ।
केशव आर्चाय
अर्का शेयर विश्लेषक डा.केशव आर्चायले भने केही दिन बढेको शेयर बजारको अवस्थालाई हेरेर मुलुकको अर्थतन्त्रले नयाँ फड्को मार्छ भन्नेमा आफू विश्वस्त नभएको बताएका छन् ।
उनले सरकार परिवर्तन हुदैमा समग्र अर्थतन्त्रले मुहार फेर्छ भन्ने विषय बिहानीलाई हेरेर दिनको कल्पना गरेजस्तो नभएको बताएका छन् । उनले देशको खस्किँदो अर्थतन्त्रमा सुधार आउँछ भनेर आफूलाई विश्वास नरहेको बताए।
नयाँ बनेको सरकारबाट एउटा अपेक्षा के गर्न सकिन्छ भने उनीहरूलाई अबचाहिँ लाग्नुपर्छ कि कम्तीमा हामीसँग चानचुन ३ वर्षको समय छ । यो छोटो समयमा हामीले ठिक परिणाम आउने गरी काम गर्न सकेनौ भने अर्को पटक जनताले हामीलाई नङ्ग्याउने छन् भनेर यसरी एउटा प्रण गरेर जनतामुखी काम गर्ने हो भने केही परिणाम पनि आउला, अर्थतन्त्रले धार पनि परिवर्तन गर्ला सत्तामा बस्ने आसेपासेलाई भर्ती केन्द्र बनाउने तिरै लाग्ने हो भने जुन जोगी आएपनी कानै चिरेको बाहेक केही हुन सक्दैन । डा. आचार्यले भने
हाम्रो मुलुकको अर्थतन्त्रमा जुन विचलनको अवस्था छ त्यो सबै नेपालको अस्थिर राजनीति नै हो । सरकारको पूजिगत खर्चमा दिनप्रतिदिन घट्दै गएको छ । त्यत्रो महत्वोकांक्षी बोकेर ल्याएको बजेट खर्चमा समेत राम्रो हुन सकेको छैन । पूजिगत खर्चको अवस्था रकमगत रूपमा समेत कमजोर छ । पूजिगत खर्चको गुणस्तर हेर्ने हो भने झनै लाजमर्दो स्थिति छ। उनले थप गरे
छोटेलाल रौनियार
त्यस्तै अर्का बजार विश्लेषक तथा अग्रज लगानीकर्ता छोटेलाल रौनीयारले शेयर बजारमा बुलको यात्रा सुरु भएको बताएका छन् । उनले आर्थिक भ्वाईससँग कुराकानी गर्दै भनेका छन् सरकार मात्रै परिवर्तन भएको होइन हाम्रो निराशामा भएको अर्थतन्त्रको अवस्था पनि फेरिएको हो ।
उनी भन्छन् अर्थतन्त्रको क्षेत्रमा एउटा साझा विश्वव्यापी भनाई छ कुनै देशको अवस्था कस्तो छ भनेर जान्नलाई त्यस देशको आर्थिक अवस्था कस्तो छ भनेर हेरे पुग्छ भनेर त्यस्तै जस्तो हाल हाम्रो देशको पूजिबजारको अवस्थामा पनि सुधार आएको मान्न सकिन्छ । बजारलाई सरकार परिवर्तनले मात्रै प्रभाव पार्दछ भन्ने कुरा होइन यो सहायक कारणमध्येको एक भने जरुर हो ।
चर्को ब्याजको तगारो पार गर्दै शेयर बजारले एउटा गति समाएको अवस्था छ । पाँच सात महिना यताकै सर्वाधिक कारोबार भएको छ । निरन्तर रूपमा कारोबार र परिसूचक बढेको छ । यो सुखद हो बुलको यात्रामा अगाडि बढेको संकेत हो यसले आम लगानीकर्तामा हौसला थपेको छ । आशा जगाएको छ । समग्रमा बजार लयमा आएको छ भन्नेमा विश्वास बढाएको छ।
लगानीकर्ता नबराज दहाल
शेयर बजारका लगानीकर्ता तथा विश्लेषकनबराज दहालले शेयर बजार बजारले एउटा सुखद सन्देश बोकेर आएको बताएका छन्। यसले लगानीकर्तामा सकारात्मक ऊर्जा पैदा गरेको उनको भनाई छ ।
हाल सबै पक्ष निकै राम्रो देखिएको छ । बुलको नजिक नजिक पुगेको अवस्थामा बजार छ घट्ने बढ्नेक्रम भएपनी कारोबार राम्रोसँग अगाडि बढेको छ । मौद्रिक नीतिले शेयर बजारको माहोललाई थप राम्रो बनाउनमा सहयोग गर्छ भन्नेमा विश्वास थपेको छ दहाल भने
दहालका अनुसार बजारको कुरा हो हाल तल माथि हुने सामान्य विषय हो मुख्य कुरा कारोबार चलायमान भएको छ लगानीकर्तामा उत्साह पैदा गरेको छ भन्ने हो, बजारमा हाल जुन उत्साह देखिएको छ यो निरन्तर कायम हुन सक्यो भने समस्याग्रस्त भएको हाम्रो अर्थतन्त्रले गति लिन्छ भन्नेमा विश्वास राख्न सकिन्छ ।
































