काठमाडौँ । भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै आएको सत्ता साझेदार दल जनता समाजवादी पार्टी, (जसपा) ले नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
जसपा नेपालको बुधवार बसेको संसदीय दल बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। जसपा नेपालको संसदीय दलको बैठकबाट आज समर्थन फिर्ताको औपचारिक निर्णय गरिएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभागले जनाएको छ ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले समर्थन फिर्ता लिएसँगै सत्ता साझेदार दल संख्या अब ६ वटामा झरेको छ ।
राष्ट्रिय सभामा सत्तारुढ दलहरू अब अल्पमत परेका छन् । ३ सांसद रहेको जसपा नेपालको साथ नपाउँदा यसअघि नै राष्ट्रिय सभामा सत्तारुढ अल्पमतमा परेको थियो । ५९ सदस्यीय राष्ट्रिय सभामा कांग्रेससँग १६ र एमालेसँग ११ सिट मात्र छ।
केही दिन अगाडि जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । पार्टीको कार्यकारिणी समितिको बैठकबाट सरकारलाई दिएको समर्थन पुनर्विचार गर्नुपर्ने निष्कर्ष निकालेको जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।


































