काठमाडौं। होटल सब्रिना लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ। सोमबार बसेको कम्पनीको छैटौँ साधारण सभाले आईपीओ निष्कासन प्रस्ताव पारित गरेको हो ।
९० करोड अधिकृत पूँजी र ५३ करोड रुपैयाँ जारी पूँजी रहेको यस होटलको चुक्ता पूँजी ३५ करोड ६५ लाख रुपैयाँ रहेको छ। कम्पनीले न्यूनतम १५ लाख कित्ताको १५ करोड रुपैयाँ बराबरको शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको जनाएको छ ।
यसका लागि गत असार अन्तिममा कम्पनीले संस्थागत परामर्श सेवा तथा प्राथमिक शेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त गरिसकेको छ ।
काठमाडौँको बुढानीलकण्ठ- ६, गणेश चोकमा रहेको होटेल सब्रिनाले आफ्नो क्षमता विस्तार गर्दै पाँच तारे स्तरमा स्तरोन्नति गर्नका लागि आईपीओ आवश्यक भएको जनाएको छ । साथै कम्पनीमाथि भएको केही कर्जालाई चुक्ता गर्ने लगायतको लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।


































