काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सहकारी ठगीको मारमा परेका ७० लाख जनताले न्याय नपाएसम्म कांग्रेसको लडाइ जारी नै रहने बताएका छन्।
चितवन कांग्रेसले सञ्चालन गरेको प्रशिक्षक प्रशिक्षण तालिम समारोहका प्रमुख अतिथि नेता महरले जनताको नजरमा दोषी प्रमाणित भइसकेका पार्टीका नेता र पार्टीलाई कारबाहीको दायरामा ल्याउन र पीडित जनताले सञ्चित गरेको रकम फिर्ता गर्न कांग्रेस संसदीय छानबिन समितिमा मात्रै भर नपर्ने र जनअपेक्षा अनुसार सदनदेखि सडक सङ्घर्ष जारी नै राख्ने बताए।
अहिले गिरिबन्धु टी स्टेटदेखि सुदर्शन सहकारीसम्म गठबन्धन सरकारमा संलग्न पार्टी र तिनका प्रमुख नेताहरू नै संलग्न हुनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ। अहिलेको गठबन्धन सरकारले नेपाली जनताको सार्वजनिक सम्पत्ति दोहन गरिरहेको महरको आरोप छ।
कांग्रेसको भरखरै सम्पन्न बैठकमा गिरिबन्धु टी स्टेटमा भएको अर्बौ रकम चलखेलको पर्दाफास गर्न आफूले प्रस्ताव गरे पनि निर्णय बाहिर आउँदा त्यस विषयमा नलेखिएको उनको भनाई थियो।


































