काठमाडौँ । गत साता २११९.७० विन्दुमा बन्द भएको नेप्से परिसूचक, यस साता भने ८४.९१ अंक बढेर २२०४.६१ विन्दुमा पुगेको छ।
यस साता भएको ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन घटेको छ। यस साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले गिरावट आएको हो ।
नेप्सेसँगै यस साता नेप्सेसँगै दैनिक औषत कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ४ अर्ब ५५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता ५ अर्ब ७९ करोडको शेयर कारोबार भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २७.१८ प्रतिशत बढेको छ ।
त्यसैगरी, यस साता दैनिक औषत कारोबार सङ्ख्या २१.९७ प्रतिशत बढेको छ भने दैनिक औषत शेयर सङ्ख्या ६.५३ प्रतिशत बढेको छ। यस साता सेन्सेटिभ इण्डेक्स ४.५३ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ४.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.७० अंक बढेको छ।
१३ उपसमूहमध्ये यस साता ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस साता लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ६.६० प्रतिशत बढेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ५१६.८४ अंक बढेको छ।
कारोबारमा आएको गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्य सर्वाधिक २१.०७ प्रतिशत बढेको छ। त्यस्तै, यस साता माण्डु हाइड्रोपावरको शेयर मूल्य करिब १८ प्रतिशत बढेको छ भने बलेफी हाइड्रोपावरको शेयर मूल्य १७ प्रतिशतभन्दा बढी बढेको छ। यस साता मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयर मूल्य सर्वाधिक २०.१४ प्रतिशत घटेको छ।


































