काठमाडौैं । यस सात शेयर बजारमा बढोत्तरी आएको छ । गत साता २७६६.३८ विन्दुमा बन्द भएको नेप्से, यस साता ८.४७ प्रतिशत अर्थात् २३४.४३ अंक बढेर ३०००.८१ विन्दुमा पुगेको छ।
यस साता भएको ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन करेक्सन आएको थियो। यस साताको मङ्गलवार नेप्से परिसूचक सामान्य करेक्सन आएको हो । त्यस्तै सेन्सेटिभ इण्डेक्स १०.७२ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ९.८६ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ११.४८ प्रतिशत बढेको छ।
नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकम पनि बढेको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २२.४१ प्रतिशत बढेको छ। गत साता दैनिक औसतमा २० अर्ब ९० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औसतमा २५ अर्ब ५९ करोडको शेयर कारोबार भएको छ। यस साता नेप्सेको भोल्यूमले अलटाइम हाइ रेकर्ड पनि बनाएको छ।
साताको अन्तिम कारोबार दिन बजारमा २९ अर्ब ९५ करोडको शेयर कारोबार भएको थियो। जुन हालसम्मकै उच्च कारोबार रकम हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या २३.८५ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या १६.३१ प्रतिशत बढेको छ।
यस साता नेप्सेको कुल बजार पुँजीकरण ३ खर्ब ७४ अर्ब रुपैयाँ बढेर ४७ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ। जुन हालसम्मकै उच्च पुँजीकरण हो। बजारमा सुधार आउँदा १३ उपसमूहमध्ये यस साता १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ।
गत साता वित्त उपसमूहको परिसूचक सर्वाधिक १५.०१ प्रतिशत बढेको छ। गत साता ३३४६.३९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ५०२.३२ अंक बढेर ३८४८.७१ विन्दुमा पुगेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १३७६.२९ अंक बढेको छ।
यस साता नेप्सेमा १ करोड ३२ लाख ९२ हजार १५६.८२ कित्ता शेयर सूचीकृत भएको छ। यस साता आइएमई लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो भने मातृभूमि लघुवित्त र सम्पदा लघुवित्तको मर्जरपश्चात् शेयर सूचीकृत भएको हो।
































