काठमाडौँ । कर्मचारी सञ्चय कोष र सिद्धार्थ बैंक लिमिटेडबीच बैंकमा कार्यरत कर्मचारीहरूको सञ्चय कोष रकम कर्मचारी सञ्चय कोषमा जम्मा गर्ने गरी सम्झौता भएको छ ।
यसै आर्थिक वर्षदेखि बैंकमा कार्यरत सबै कर्मचारीहरूको कोषकट्टी रकम नियमित रूपमा कर्मचारी सञ्चय कोषमा जम्मा हुनेछ । साथै बैंकबाट कोषलाई हाल हस्तान्तरण गरिएको १ अर्ब ५८ करोड ३० लाख १८ हजार २ सय १७ रुपैयाँ समेत सञ्चय कोषले व्यवस्थापन गर्नेछ ।
हाल सिद्धार्थ बैंकमा १ हजार ९ सय ५५ जना कर्मचारी कार्यरत छन् ।
https://aarthikvoice.com/archives/65802
सम्झौतामा कर्मचारी सञ्चय कोषकोतर्फबाट सञ्चयकर्ता सेवा विभागका प्रमुख सागर कुमार सिंह र सिद्धार्थ बैंकको तर्फबाट बैंकका नायब महाप्रबन्धक सुरेश राज महर्जनले हस्ताक्षर गरेका थिए ।
सम्झौता पश्चात् बैंकका कर्मचारीहरूले कर्मचारी सञ्चय कोषका अन्य सञ्चयकर्ता सरह कोषबाट प्रदान हुने सुविधा उपयोग गर्न सक्ने छन् । बैंकका कर्मचारीले नियमानुसारको अवधि तथा प्रक्रिया पूरा गरी कोषबाट सहुलियत ब्याजदरमा विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, जग्गा खरिद सापटी र सरल सापटी लगायतका सुविधा उपयोग गर्न सक्नेछन् ।
यस्तै¸ कोषले सञ्चयकर्तालाई कुनै व्ययभार नपर्ने गरी कोषको आफ्नै स्रोतबाट सञ्चयकर्ताहरूलाई विभिन्न सामाजिक सुरक्षा सुविधा समेत उपलव्ध गराउँदै आएको छ । जसअनुसार साधारण रोगको उपचारको लागि वार्षिक १ लाख रुपैयाँसम्म र कडा रोगको लागि सेवा अवधिभरमा १० लाख रुपैयाँसम्म शोधभर्ना प्रदान गर्ने गरिएको छ ।
दुर्घटना क्षतिपूर्ति बापत २ लाख रुपैयाँसम्म तथा काजकिरिया अनुदान ४० हजार रुपैयाँ निजका हकवालाले प्राप्त गर्ने छन् । कोषले सुत्केरी तथा शिशु स्याहार सुविधा अन्तर्गत प्रति प्रसुति बढीमा दुई पटकसम्म ७ हजार ५ सय रुपैयाँ समेत प्रदान गर्दै आएको छ ।
कर्मचारी सञ्चय कोषमा हालसम्म ५९१ बैंक तथा वित्तीय संस्थाहरू आबद्ध भइसकेका छन् । कूल ८१ हजार ६५० कार्यालयका ५ लाख ७९ हजार सञ्चयकर्ताहरूको कोषको व्यवस्थापन सञ्चय कोषमार्फत भइरहेको छ । ४ हजार २९० कार्यालयका ९५ हजार ७७३ योगदानकर्ताहरूको योगदानमा आधारित निवृत्तभरण कोषको व्यवस्थापन समेत कोषले गर्दै आइरहेको छ ।
नेपाल सरकारले आर्थिक ऐन, २०८२ मा संशोधन गरी साविकमा आन्तरिक राजस्व विभागबाट स्वीकृत प्राप्त अवकाश कोषहरू कर्मचारी सञ्चय कोष जस्ता अवकाश कोषमा आबद्ध हुनु पर्ने व्यवस्था गरेसँगै बैंक तथा वित्तीय संस्थाहरू कर्मचारी सञ्चय कोषमा आबद्ध हुने क्रम बढ्दै गएको छ ।
गत असार ३१ गते आन्तरिक राजस्व विभागले सूचना जारी गरी आर्थिक ऐन, २०८२ को दफा २३ मा आयकर ऐन, २०५८ बमोजिम साविकमा आन्तरिक राजस्व विभागबाट स्वीकृत प्राप्त अवकाश कोषहरू २०८३ साल असार मसान्तभित्र कर्मचारी सञ्चय कोष लगायतमा अनिवार्य आबद्ध हुनु पर्ने व्यवस्थाको जानकारी गराएको थियो ।


































