काठमाडौँ । चालु आर्थिक वर्ष ०८२/८३ को पहिलो दुई महिनामा (साउनदेखि भदौसम्म) बैंक तथा वित्तीय संस्थाहरूले सुनचाँदी धितो मार्फत २ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो रकम २० करोड ४४ लाख रुपैयाँले कम हो। गत वर्षको पहिलो दुई महिनामा यस शीर्षकमा ३ अर्ब ५ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो।
बैंकरहरूको भनाइमा, सुनचाँदी धितो कर्जाको सीमा ५० लाख रुपैयाँमा सीमित गर्ने नेपाल राष्ट्र बैंकको व्यवस्थाका कारण कर्जा प्रवाहमा कमी आएको हो।
राष्ट्र बैंकले गत वर्ष २९ पुसमा जारी गरेको निर्देशनमार्फत एकल ग्राहकलाई ५० लाख रुपैयाँभन्दा बढी सुनचाँदी धितो कर्जा प्रवाह गर्न नपाइने व्यवस्था गरेको थियो। उक्त सीमा ०८३ असार मसान्तसम्म कायम राख्नुपर्ने भनिएको छ। यसले बैंकहरूमा कर्जा प्रवाहलाई निर्धारित सीमाभित्र समेट्ने दबाब सिर्जना गरेको छ।
सुनचाँदी धितो कर्जा प्रवाह गर्दा, केन्द्रीय बैंकले कडाइका साथ सुन वा चाँदीको प्रमाणीकरण, परीक्षण र सुरक्षाको सुनिश्चितता गर्नुपर्ने प्रावधान राखेको छ। ऋणीले धितोका रूपमा दिएको सुन वा चाँदी एउटै थैलीमा राखिएको हुनुपर्छ, र कुनै पनि अवस्थामा परीक्षण नगरी कर्जा प्रवाह गरेमा त्यस्तो कर्जामा १०० प्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्ने प्रावधान छ।
सुनचाँदी धितो कर्जामा बैंकहरूले सामान्यतया सुनका गहनाका मूल्यको ७० प्रतिशतसम्म र शुद्ध सुनका मूल्यको ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्दै आएका छन्। यस्तो कर्जाको अवधि अधिकतम एक वर्षसम्मको हुने र आवश्यक परे प्रत्येक वर्ष नवीकरण गर्न सकिने व्यवस्था छ। सुनको मूल्यमा देखिएको स्थिर वृद्धिले धितो जोखिमलाई न्यून बनाएको भए पनि, त्यसको उपभोगमा पर्ने असर र बजारमा सम्भावित जोखिम मूल्यांकनका लागि गहिरो अध्ययन आवश्यक रहेको उनीहरूको सुझाव छ।


































