काठमाडौँ । स्टार्टअप उद्यमलाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको सहुलियतपूर्ण कर्जा कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सार्वजनिक गरेको विवरणअनुसार हालसम्म कुल १० हजार २४४ परियोजना प्रस्ताव प्राप्त भएका छन्।
“स्टार्टअप उद्यम कर्जा कार्यक्रम सञ्चालन कार्यविधि, २०८२” अनुसार आह्वान गरिएको प्रस्तावमा देशभरका ७७ जिल्ला र ७९३ स्थानीय तहबाट आवेदन परेको हो। तीमध्ये २ हजार ४१ प्रस्ताव भौतिक रूपमा तथा ८ हजार २०३ प्रस्ताव विद्युतीय माध्यमबाट पेश भएका छन्।
नवीन ज्ञान, सोच, सीप र क्षमतालाई व्यावसायिक रूपान्तरण गर्दै युवालाई उद्यमशीलतामा आकर्षित गर्ने लक्ष्यसहित चालु आर्थिक वर्ष २०८२र८३ का लागि ८६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। प्रतिष्ठानले २०८२ कार्तिक १९ गते कर्जाका लागि प्रस्ताव आह्वान गरेको थियो।
प्राप्त प्रस्तावहरूको मूल्याङ्कन विषयगत विज्ञसहितको समितिबाट गरिनेछ। प्रारम्भिक छनोटका लागि एआईमा आधारित स्क्रिनिङ सफ्टवेयर प्रयोग गरिनेछ, जसबाट करिब ८० प्रतिशतसम्म शुद्धता हासिल हुने अपेक्षा गरिएको छ।
मूल्याङ्कन प्रक्रियामा परियोजनाको वास्तविक अवस्था पुष्टि गर्न स्थलगत निरीक्षणसमेत गरिनेछ। यसका लागि उद्यम विकास सहजकर्ताको सहयोग लिइनेछ, जसले परियोजनाको विवरण, तस्बिर तथा सञ्चालन भइरहेको गतिविधि वा उत्पादन झल्किने एक मिनेटको भिडियोसहित प्रतिवेदन पेश गर्नुपर्नेछ।
कार्यविधिको मापदण्ड पूरा गरेका परियोजनाहरूलाई समेटेर प्रतिष्ठानले प्रारम्भिक सूची सार्वजनिक गर्नेछ। व्यावसायिक प्रस्तुतीकरणमा लाग्ने समय र लागतलाई ध्यानमा राख्दै अनुसूची–५ अन्तर्गत ‘ड’ शीर्षकको ६ अङ्कको प्रस्तुतीकरण बाहेक अन्य सूचकका आधारमा मूल्याङ्कन गरिनेछ।

































