काठमाडौँ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बिक्री खुला गरेको आइपीओमा ९ करोड १६ लाख ७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ।
वैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गरेको आइपीओमा असार ३२ गते बिहानसम्म ५७ हजार २१९ जनाले ९ लाख १६ हजार ७० कित्ताका लागि आवेदन परेको सीडीएसले जनाएको छ। यो मागभन्दा ३९.६५ गुणा बढी आवेदन हो।
स्वस्तिक लघुवित्तले असार २७ गतदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई प्रतिकित्ता १०० रुपैयाँको दरले २३ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो। धितोपत्र बोर्डले स्वस्तिकलाई कुल २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति दिएको थियो ।
त्यसमध्येमा पहिलो चरणमा १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बिक्री खुला गरिएको हो। साथै, ०.५० प्रतिशतले हुने ११ सय ५५ कित्ता सेयर कम्पनीका कर्मचारीलाई र ५ प्रतिशतले हुने ११ हजार ५५० कित्ता सेयर म्युचुअल फन्डहरूलाई छुट्टाइएको छ ।
यसबाहेक बाँकी रहने १ लाख ९५ हजार ५९५ कित्ता सेयर भने दोस्रो चरणमा सर्वसाधारणलाई बिक्री गरिने छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले साउन ९ गतेसम्म आवेदन दिन सक्नेछन्। न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । यसमा सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरूमार्फत आवेदन दिन सकिनेछ ।


































