काठमाडौँ। इरानसँग जारी द्वन्द्वका बीच अमेरिकी घाइते हुने सैनिकको संख्या ३०० नाघेको छ। हालै साउदी अरेबिया स्थित एक महत्वपूर्ण हवाई अड्डामा इरानले ६ वटा ब्यालिस्टिक मिसाइल र २९ वटा ड्रोन प्रयोग गरी आक्रमण गरेको जनाइएको छ। उक्त घटनामा कम्तीमा १५ जना अमेरिकी सैनिक घाइते भएका छन्, जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । यसअघि पनि सो क्षेत्रमा भएका आक्रमणले सैनिक र सैन्य उपकरणमा क्षति पुर्याएको थियो ।
यसबीच संयुक्त राज्य अमेरिकाले मध्यपूर्वमा आफ्नो सैन्य उपस्थिति उल्लेखनीय रूपमा विस्तार गरेको छ । करिब २,५०० मरीन सैनिक बोकेको युद्धपोत त्यहाँ पुगेको छ भने थप नौसैनिक जहाज र सैन्य इकाइहरू पनि परिचालन गरिएको छ । हाल उक्त क्षेत्रमा करिब ५० हजार अमेरिकी सैनिक, दुई विमानवाहक जहाजसहित विभिन्न युद्धपोत तैनाथ छन्, जुन पछिल्लो दुई दशकयताकै ठूलो उपस्थिति मानिएको छ।
यो द्वन्द्व सुरु भएको एक महिना पुगिसकेको छ । अहिलेसम्म १३ अमेरिकी सैनिकको ज्यान गएको छ। केही ड्रोन आक्रमणमा र केही विमान दुर्घटनामा परेर मृत्यु भएका हुन्। सयौँ घाइतेमध्ये धेरै उपचारपछि पुनः सेवामा फर्किएका छन् भने केही अझै उपचाररत छन् ।
इरानले अमेरिकासहित उसका सहयोगी राष्ट्रहरूको कारबाहीको जवाफस्वरूप इजरायल र खाडी क्षेत्रका अन्य मुलुकलाई लक्षित गर्दै आक्रमण जारी राखेको छ। विशेषगरी हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रण कडा बनाएपछि विश्वव्यापी तेल आपूर्ति प्रभावित भएको छ। यसले अन्तर्राष्ट्रिय बजारमा इन्धन मूल्य वृद्धि गराउनुका साथै विश्व अर्थतन्त्रमा नकारात्मक असर पारेको छ। साथै, हवाई उडानमा अवरोध हुँदा यात्रु आवागमन पनि प्रभावित बनेको छ ।
युद्ध अन्त्य गर्न अमेरिकी नेतृत्वमाथि दबाब बढ्दै गएको छ। अमेरिकाले कूटनीतिक तथा सैन्य दुवै विकल्प खुला राखेको जनाउँदै आवश्यक परे थप कदम चाल्ने संकेत दिएको छ। तर, इरानले हालसम्म वार्तामा सहभागी नहुने अडान लिएकाले यो द्वन्द्व छिट्टै समाधान हुने सम्भावना अनिश्चित देखिएको छ।


































