काठमाडौँ । काठमाडौँ उपत्यकाको तीनकुनेमा चैत १५ गते भएको दुर्घटनामा पौने ५ करोड रुपैयाँ बीमा दाबी परेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार ११ निर्जीवन बीमा कम्पनीमा चार करोड ८७ लाख रुपैयाँ ६८ हजार रुपैयाँ बराबरको बीमा दाबी परेको हो ।
बीमा प्राधिकरणका अनुसार इन्जिनियरिङ तथा ठेकेदार जोखिममा ३ वटा दाबीबाट बिगो दाबी रकम ३७ लाख रुपैयाँ रहेको छ । जस अनुसार सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा सबैभन्दा बढी रुपैयाँको दाबी परेको छ ।
त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ८ वटा बीमा दाबी बराबर एक करोड १७ लाख ५० हजार रुपैयाँको बीमा दाबी परेको छ भने सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ५ वटा बीमा दाबी बराबर ६८ लाख ९१ हजार रुपैयाँको बीमा दाबी परेको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार नेको इन्स्योरेन्समा ४ वटा बीमा दाबी बराबर ५२ लाख रुपैयाँ, द ओरियण्टल इन्स्योरेन्समा १ दाबी बराबर ४७ लाख ५० हजार रुपैयाँ, नेशनल इन्स्योरेन्समा ११ वटा दाबी बराबर २० लाख ७५ हजार रुपैयाँको बीमा दाबी परेको छ । बीमा दावी भुक्तानीमध्येमा शिखर इन्स्योरेन्सले भने तीन वटा बीमा दावी बराबर ४५ हजार रुपैयाँ भुक्तानी गरीसकेको छ।



































