काठमाडौँ। चालु आर्थिक वर्षको पछिल्लो ८ महिनाको अवधिमा बीमा गराएका बिमितहरूले झण्डै १० अर्ब रुपैयाँको बीमा पोलिसी सरेण्डर गरेका छन्। चालु आर्थिक वर्ष २०८१।०८२ को फागुन मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीहरूबाट ९ अर्ब ८७ करोड ६३ लाख ६३ हजार रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको हो।
नेपाल बीमा प्राधिकरणको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको ८ महिनामा विभिन्न जीवन बीमा कम्पनीहरूबाट बीमितहरुले ७१ हजार ५५४ वटा बीमा पोलिसी सरेण्डर गरेका छन्।
१४ वटा जीवन बीमा कम्पनीहरूले जारी गरेका कुल बीमालेखमध्ये एलआइसी नेपालका बीमितहरुले सर्वाधिक बढी बीमा पोलिसी सरेन्डर गरेका छन्। उक्त कम्पनीको १७ हजार ८८९ वटा बीमा पोलिसी बापत ३ अर्ब ९ करोड ९६ लाख रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ।
त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १५ हजार ५७२ वटा बीमा पोलिसी बापत दुई अर्ब ६३ करोड ७६ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ। पोलिसी सरेण्डरको आधारमा यस कम्पनी दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै यस अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीको ९२ करोड ११ लाख रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ। भने एशियन लाइफ इन्स्योरेन्सको ६१ करोड १४ लाख रुपैयाँ बीमा पोलिसी सरेण्डर भएका छन् ।
आठ महिनाको अवधिमा क्रमशः नेशनल लाइफ इन्स्योरेन्सको ६० करोड ५१ रुपैयाँ, सूर्य ज्योति लाइफ इन्स्योरेन्सको ५३ करोड २१ लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सको ४२ करोड २७ लाख रुपैयाँ र मेट लाइफको २७ करोड ९९ लाख रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको हो ।
पछिल्लो समय देखिँदै गएको आर्थिक मन्दी तथा विदेश जानेहरूको कारण पनि पोलिसी सरेण्डर बढिरहेको जानकारहरूको भनाइ छ।बीमा भोलिका दिनका लागि भएको र अहिले आर्थिक अभावका कारण पोलिसी सरेण्डर गरेर अहिलेको अभाव टार्न खोज्दा पालिसी सरेण्डर बढ्दै गएको जानकारहरूको धारणा छ ।
साथे, बीमाको पर्याप्त ज्ञानको अभाव र हैसियतभन्दा बढीको बीमा गराएका कारणले पनि पोलिसी त्याग गर्नेको सङ्ख्या बढ्दै गएको बीमा विज्ञहरूको भनाई छ । अर्कोतर्फ धेरै बीमा कम्पनीमा बीमा गराएका कारणले पनि यस्तो हुन सक्ने केही बीमा विश्लेषकहरूको धारणा छ ।
तालिकामा हेर्नुहोस्



































