काठमाडौं । शेयर बजारको ओरालो यात्राले साताको पहिलो दिन पनि निरन्तरता पाएको छ । साताको पहिलो कारोबारका दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५३.०४ अकंले घटेर २६१६.२६ बिन्दुका कायम भएको छ।
नेप्सेमा गिरावट आए पनि कारोबार रकममा भने सुधार आएको छ । आज ३१७ कम्पनीको १ करोड २३ लाख ७१ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३२ करोड १ लाख रुपैयाँको कारोबार भएको छ।
पछिल्ला दिनहरूमा लगानीकर्ताको मनोबल निरन्तर रूपमा कमजोर बन्दै जाँदा शेयर बजारमा लगातार रूपमा गिरावट आएको छ । बजारमा धेरैजसो साना र नयाँ लगानीकर्ताहरूको प्रवेश भएको र उनीहरू हडबडाएर सेयर बिक्री गरिरहेको कारण बजारमा अस्थिरता आएको जानकारहरूको भनाई छ ।
लामो समयसम्म पनि बजारको गिरावटमा सुधार नआउँदा कारोबार सेटलमेन्टका लागि घटेकै भाउमा समेत भए बिक्री गर्नुपर्ने दबाब खडा भएको कारण कारोबारीलाई परेको समस्या परेको देखिन्छ । यसले बिक्री गर्नमा दबाब दिएको आकलन गर्न सकिन्छ ।
२९ सयमाथि पुगिसकेको नेप्से लगातार घट्दा छोटो अवधिमै २६२५ आसपासमा आइसकेको छ। छोटो समयमा भएको यो ठूलो गिरावट हो । त्यसो त १४ कारोबार दिनमा १३ दिन बजार घटेको छ।
यसदिन १३ वटै उपसूचक राताम्य भएको छ। आज फाइनान्सको २.९९ प्रतिशत र विकास बैंक समूहको २.४२ प्रतिशतले शेयर मूल्य ओरालो लागेको छ। यो सर्वाधिक गिरावट हो ।
बैंक ब्याजदर निकै तल्लो विन्दुमा झरेको छ। बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ। यसले केही करेक्सनहरूका बाबजुद पनि बजारलाई माथि तिरै लैजानुपर्ने देखिन्छ। चक्रीय आधारमा हेर्दा समेत बजारले लामो समयको बियरिस अवधि पार गरिसकेको बुझ्न सकिन्छ ।
































