काठमाडौं । सरकारले आज पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिए पनि बैंक तथा वित्तीय संस्थाहरूले सीमित सेवा सञ्चालन गर्ने भएका छन्।
सरकारले सार्वजनिक बिदा घोषणा गरेसँगै अधिकांश सरकारी तथा निजी कार्यालय बन्द रहने भए पनि सेवाग्राहीको दैनिक बैंकिङ आवश्यकता प्रभावित नहोस् भन्ने उद्देश्यले बैंकहरूले आंशिक शाखा तथा होलिडे काउन्टरमार्फत सेवा दिन लागेका हुन्।
नेपाल बैंकर्स संघका अनुसार आज अधिकांश वाणिज्य बैंकहरूले तोकिएका शाखा र काउन्टरबाट न्यूनतम तर अत्यावश्यक बैंकिङ सेवा निरन्तरता दिने व्यवस्था मिलाएका छन्।
बैंकहरूले होलिडे काउन्टरमार्फत नगद निक्षेप संकलन, भुक्तानी सेवा, चेक क्लियरिङसँग सम्बन्धित सीमित काम, तथा विदेशी मुद्रा विनिमय (फरेन एक्सचेन्ज) सेवा उपलब्ध गराउनेछन्।
विशेषगरी वैदेशिक रोजगारी, पर्यटन तथा आपतकालीन कारोबारलाई ध्यानमा राखेर विदेशी मुद्रा सटही सेवा निरन्तर राखिएको बैंकहरूले जनाएका छन्।
त्यस्तै, एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर भुक्तानीलगायत डिजिटल बैंकिङ सेवाहरू भने नियमित रूपमा सञ्चालनमा रहनेछन्। बैंकहरूले सेवाग्राहीलाई नजिकको कुन शाखा वा होलिडे काउन्टर खुला छ भन्ने जानकारी सम्बन्धित बैंकको वेबसाइट, सामाजिक सञ्जाल तथा सूचना बोर्डमार्फत लिन आग्रह गरेका छन्।


































