काठमाडौँ । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट स्थानान्तरण गरिएका सुकुमवासीहरूलाई अस्थायी रूपमा बसोबास गराउने व्यवस्था पाँच फरक स्थानमा मिलाइएको छ। बल्खु, वंशीघाट, बालाजु, शंखमूललगायत क्षेत्रमा रहेका घरटहरा हटाइएपछि उनीहरूलाई वैकल्पिक व्यवस्थापनमा सार्ने प्रक्रिया अघि बढाइएको हो।
सरकारी योजनाअनुसार प्रभावित व्यक्तिहरूलाई ललितपुरको धापाखेलस्थित टेवा कार्यालय, भक्तपुरको खरिपाटीस्थित विद्युत् तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र र काभ्रेको बनेपास्थित रेडक्रस भवनमा अस्थायी रूपमा राखिने तयारी गरिएको छ।
यसअघि स्थानान्तरणको प्रक्रिया अघि बढाउनुअघि उनीहरूको विवरण संकलनका लागि दशरथ रंगशालामा दर्ता कार्य भइरहेको छ।
रंगशालामा सहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगर प्रहरीको संयुक्त टोलीले विवरण संकलनको काम गरिरहेको छ।


































