काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई सिपमूलक तालिममार्फत रोजगारीमा जोड्ने योजना अघि बढाएको छ। सोमबार मन्त्री रामजी यादवको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकमा भक्तपुरका खरिपाटी, बोडे र चाँगुनारायण, काठमाडौंको रानीवन तथा काभ्रेपलाञ्चोकको बनेपामा रहेका होल्डिङ सेन्टरका १२५ जना सुकुमवासीमाथि गरिएको सीप तथा रोजगारी आवश्यकता मूल्यांकनबारे छलफल गरिएको थियो। सो मूल्यांकनले सरसफाइ, माली, सुरक्षा गार्ड, हाउसकिपिङ, ड्राइभिङ, पेन्टिङ तथा साना व्यवसाय सञ्चालन जस्ता क्षेत्रमा उनीहरूको रुचि देखाएको छ।
उक्त आधारमा सम्बन्धित निकायसँग समन्वय गरी तालिम प्रदायक संस्थामार्फत आवश्यक सीप विकास तालिम सञ्चालन गर्ने र त्यसपछि उनीहरूलाई रोजगारीसँग जोड्ने प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ। यसका लागि पूर्वाधार विकास मन्त्रालय, सडक विभाग तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसँग सहकार्य गरिनेछ।
मन्त्री यादवले सुकुमवासीलाई रोजगारी उपलब्ध गराउने विषयलाई उच्च प्राथमिकतामा राखी प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन्।

































