काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारमा लागू गरिएको पूँजीगत लाभकर अन्तिम निर्णय भएको स्पष्ट पारेका छन्। बजेटपछिको पत्रकार सम्मेलनमा बोल्दै उनले यस विषयमा देखिएको अन्योल हटाउने प्रयास गरेका हुन्।
उनका अनुसार लगानीकर्ताहरूको सुझावका आधारमा करको दर समायोजन गरिएको हो।
अर्थमन्त्री वाग्लेले अन्य देशहरूको उदाहरण दिँदै नेपालमा करको दर अझै मध्यम स्तरमै रहेको उल्लेख गरे। उनका अनुसार करसम्बन्धी अनिश्चितता हटाउन सानो वृद्धि गरिएको हो।
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अल्पकालीन लगानीमा पूँजीगत लाभकर ७.५ प्रतिशतबाट १० प्रतिशत र दीर्घकालीन लगानीमा ५ प्रतिशतबाट ७.५ प्रतिशत पुर्याएको छ। यस निर्णयप्रति केही लगानीकर्ताले असन्तुष्टि जनाए पनि मन्त्रीले यसलाई स्थायित्वका लागि आवश्यक कदम भएको बताएका छन्।
त्यस्तै, उनले सेयर बजारबाहेक अन्य क्षेत्रबाट हुने आम्दानीमा लागू हुने कर तिर्नुपर्ने व्यवस्था यथावत रहेको स्पष्ट पारे। सेयर कारोबारबाट भएको आम्दानीमा भने दोहोरो कर लाग्ने कुनै सम्भावना नरहेको उनको भनाइ छ।


































