काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर निरन्तर घट्दै जाँदा सवारीसाधन खरिदका लागि कर्जा लिन चाहनेहरूलाई सहज अवस्था बनेको छ। पछिल्लो समय बैंकहरूको आधार दर घटेसँगै सस्तो ब्याजदरमा ऋण उपलब्ध हुन थालेको हो।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार हाल कर्जाको औसत ब्याजदर करिब ६.७३ प्रतिशतमा झरेको छ।
बैंकहरूले आधार दरमा सीमित प्रिमियम थपेर कर्जा प्रवाह गर्ने भएकाले अहिले ग्राहकले कम दरमै ऋण पाउने अवस्था बनेको छ। प्रणालीमा पर्याप्त तरलता भएकाले बैंकहरू कर्जा दिन इच्छुक देखिएका छन्, जसका कारण बार्गेनिङ गर्न सक्ने ग्राहकले झन् कम प्रिमियममा ऋण लिन सक्ने स्थिति छ। यस आधारमा धेरै बैंकबाट करिब ६ देखि ७ प्रतिशत हाराहारीमै कर्जा पाइरहेको अवस्था छ।
अहिले अटो कर्जातर्फ पनि बैंकहरूले स्थिर ब्याजदरको विकल्प दिएका छन्। ६.५ प्रतिशतदेखि ९ प्रतिशतसम्मको दरमा ५ देखि ७ वर्ष अवधिका लागि यस्तो कर्जा उपलब्ध गराइँदै आएको छ।
कम ब्याजदरले ऋणीको मासिक किस्ता घटाउने भएकाले गाडी खरिद गर्दा कुल लागत पनि घट्ने देखिन्छ। यही कारणले आगामी महिनाहरूमा आयोजना हुने अटो प्रदर्शनीहरूसँगै सवारी बजारमा माग बढ्ने अपेक्षा गरिएको छ।
कुन बैंकबाट सस्तो कर्जा पाइन्छ भन्ने कुरा मुख्यतः आधार दरमा निर्भर हुन्छ। तुलनात्मक रूपमा कम आधार दर भएका बैंकबाट सस्तो ब्याजदरमा ऋण पाइन्छ भने उच्च आधार दर भएका बैंकबाट कर्जा लिँदा लागत केही बढ्न सक्छ। हाल केही बैंकहरूको आधार दर ५ प्रतिशतभन्दा तल झरेकाले त्यस्ता बैंकहरूबाट अझै सस्तो दरमा अटो कर्जा लिन सकिने अवस्था रहेको छ।



































