काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले सवारी कर्जा घटाएका छन् । सवारीको आयात, बिक्रीसँगै मुुनाफाको संभावना समेत घट्दैगएपछि बैंकहरुले अटो कर्जा अर्थात् हायर पर्चेजमा लगानी गर्न छाडेका हुन् ।
सन् २०२० को मध्य–जुलाई अर्थात् वैशाखसम्ममा ५ अर्ब ८५ करोड बढी कर्जा लगानी सवारी साधानको क्षेत्रमा गरेका बैंकहरुले सो क्षेत्रको लगानी क्रमशः घटाउँर्दै सन् २०२३ मा ३ अर्ब हारहारीमा झारिसकेका छन् ।

केन्द्रीय बैंककै तथ्याङ्क अनुसार सन् २०२० यता यस्तो अटो कर्जा क्रमशः कम गर्दै बैंक तथा वित्तीय संस्थाहरुले सन् २०२१ मा ३ अर्ब ९६ करोड रुपैयाँ लगानी गरेकामा सन् २०२२ मा पुनः ४ अर्बमा उक्लिएको थियो । त्यसपछि पुनः ओरालो लागेको अटो कर्जा सन् २०२३ को जुलाई मध्यसम्म आइपुग्दा ३ अर्ब ६५ करोड ५० लाख हारहारीमा झरेको छ । यो अघिल्लो महिनाकै तुलनामा पनि २.५० प्रतिशतको गिरावट हो ।
बैंकहरुले किन घटाउँदै छन् सवारी कर्जा ?
कोभिड–१९ पछि समग्र आर्थिक क्षेत्र नै सुस्ताएसँगै अटो बजार समेत नराम्रोसँग खस्किन पुग्यो । कोभिड ताका अटो बजार यसरी खस्किन पुुग्यो की, सवारी साधनको व्यापार नै हुन सकेन । जसले गर्दा गाडी आयातकर्ताहरुले गाडी नै ल्याउन छाडे । गाडी शोरुमहरु धमाधम बन्द हुनपुुगे भने बैंकबाट लिएको ऋणको सावाँ ब्याज समेत भुक्तानीमा व्यवसायीहरुलाई समस्या पर्न थाल्यो । ठ्याक्कै त्यस्तै अवस्था अहिले अटो व्यवसायीहरु भोग्दैछन् ।
आर्थिक मन्दीको चपेटामा फसेका व्यवसायीहरुले गाडी बेच्न सकिरहेका छैनन् भने उता महँगो ब्याजमा कर्जा लिएर सवारी आयात गर्न सकिरहेका छैनन् । व्यापार नभएपछि बैंकको ब्याज किस्ता समेत चलाउन सकिरहेका छैनन् ।

‘खराब आर्थिक स्थितिका बाबजुद अटो बजारलाई थप समस्यामा पार्नेगरी राष्ट्र बैंकले कर्जा नीति लिएको छ । सवारीको कर्जाको ५० प्रतिशतको क्याप त छदैछ थप मौद्रिक नीतिले सवारी कर्जाको जोखिम भार समेत ७५ प्रतिशतबाट एकैपटक दोब्बरले बढाएर १५० प्रतिशत पु¥याइदिएको छ । यसले समस्या भएको हो’ नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले बताए ।
विद्युतीय सवारीमा स्पेश खोज्दै बैंकहरु
यद्यपि, समग्र अटो क्षेत्रबाट गुमेको लगानीको वातावरण बैंक तथा वित्तीय संस्थाहरुले अहिले विद्युतीय सवारीमा खोज्दैछन् । पछिल्लो समय अधिक तरलता थुप्रिन थालेसँगै बैंक तथा वित्तीय संस्थाहरु विद्युतीय सवारीतर्फ आकर्षित हुन थालेका हुन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकहरु मिलेर नै विद्युतीय सवारीमा लगानी गर्ने नीति बनाएको बताए ।
‘केही समय अप्ठेरो स्थितिका कारण हामीले सवारी कर्जामा कडाइ गरेकै हौं । तर अहिले तरलता सहज हुँदैगर्दा लगानीको दीर्घकालिन उपलब्धीसहित लगानीको सुरक्षित र भरपर्दो क्षेत्र खोजिरहेका छौं । यसका लागि विद्युतीय सवारी उपयुक्त क्षेत्र हुन्छ भनेर नै हामीले यसतर्फ लगानी गर्न थालेका हौं’ केसीले भने ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले आकर्षक प्याकेजसहित सरल र सुलभ ब्याजदरको प्रस्तावसहित विद्युतीय सवारीमा लगानी गरिरहेका छन् । यसले विद्युतीय सवारीमा काम गर्ने व्यवसायीहरुलाई समेत हौसला प्रदान गरेको छ ।



































