काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित बनेको छ । केही दिनदेखि परिरहेको बेमौसमी झरीको कारण आन्तरिक तथा बाह्य हवाई उडान प्रभावित बनेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दिएको जानकारी अनुसार ‘भिजिबिलिटी’कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित बन्न पुगेको हो । विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर हुँदा केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएको जानकारीm दिएका छन्।
झा का अनुसार एयर चाइनाको जहाज ‘डाइभर्ट’ भएको छ भने अन्य जहाज आकाशमा ९होल्ड० भएका छन् । । “प्रतिकूल मौसमले विमानस्थलको भिजिबिलिटी कमजोर रहेको छ । एक घण्टा अगाडि एक हजार छ सय मिटर मात्रै भिजिबिलिटी रहेकामा अहिले तीन हजार माथि रहेको छ । “होल्डमा रहेका अन्तर्राष्ट्रिय उडानका जहाज अवतरण हुन थालेका छन्”, प्रवक्ता झाले भने ।
आन्तरिकतर्फ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भएको छैन । तराई क्षेत्रका विमानस्थलमा भने नियमित उडान भइरहेको उनको भनाई छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।


































