काठमाडौं । हिमालयन बैंकले आर्थिक वर्ष २०८२/८३ को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको खुद नाफामा उल्लेख्य सुधार आए पनि सञ्चित नोक्सानी भने बढेर करिब १० अर्ब रुपैयाँ पुगेको छ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४८ करोड ३ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा १२ करोड ९७ लाख २६ हजार रुपैयाँ मात्रै थियो।
तर, बैंकको सञ्चित नोक्सानी ९ अर्ब ८४ करोड १ लाख ४९ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो नोक्सानी ८ अर्ब ८५ करोड ४२ लाख रुपैयाँ थियो। बक्यौता ब्याज तथा अन्य व्यवस्थापनपछि बैंकको वितरणयोग्य नाफा अझै ९ अर्ब ८४ करोड रुपैयाँ ऋणात्मक रहेको छ।
बैंकको निष्क्रिय कर्जा (एनपीएल) ७.९६ प्रतिशतमा कायम छ। अघिल्लो वर्ष यो ७.९७ प्रतिशत थियो। खराब कर्जा उच्च रहेकाले बैंकले सम्भावित कर्जा जोखिम व्यवस्थापनका लागि २ अर्ब ८९ करोड ६४ लाख रुपैयाँ प्रोभिजन गरेको छ। यद्यपि, चौथो त्रैमासमा बैंकले २२ करोड ८८ लाख रुपैयाँ प्रोभिजन राइटब्याक गरेको देखिन्छ।
यता, बैंकको खुद ब्याज आम्दानीमा भने गिरावट आएको छ। अघिल्लो वर्ष १० अर्ब ४२ करोड ५० लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत आर्थिक वर्षमा घटेर ८ अर्ब ८१ करोड १ लाख रुपैयाँमा सीमित भएको छ। खुद फि तथा कमिसन आम्दानी पनि घटेर १ अर्ब १६ करोड २१ लाख रुपैयाँमा आएको छ।
नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि सुधार भएको छ। अघिल्लो वर्ष ६० पैसा रहेको ईपीएस गत आर्थिक वर्षमा बढेर ६ रुपैयाँ ५६ पैसा पुगेको छ। प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ ४८ पैसा कायम छ।
बैंकको आधार दर ६.६३ प्रतिशतबाट घटेर ५.३१ प्रतिशतमा आएको छ भने स्प्रेड दर ३.२९ प्रतिशतबाट घटेर २.८३ प्रतिशतमा सीमित भएको छ। पुँजी कोष अनुपात १०.६० प्रतिशतबाट बढेर ११.६९ प्रतिशत पुगे पनि प्राथमिक पुँजी अनुपात ७.६९ प्रतिशतमा सीमित छ।
त्यस्तै, बैंकको सीडी रेसियो ८१.३५ प्रतिशतबाट घटेर ७२.७४ प्रतिशतमा आएको छ। यसले बैंकसँग कर्जा तथा लगानी विस्तारका लागि पर्याप्त स्रोत रहे पनि त्यसअनुसार कर्जा विस्तार हुन नसकेको संकेत गर्छ। बैंकको कस्ट अफ फन्ड पनि ४.८४ प्रतिशतबाट घटेर ३.६३ प्रतिशतमा झरेको छ।
गत आर्थिक वर्षमा बैंकको निक्षेप संकलन बढेर ३ खर्ब ५१ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। कर्जा प्रवाह भने सामान्य वृद्धि हुँदै २ खर्ब ३० अर्ब ६३ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ।
यसरी हेर्दा हिमालयन बैंकको नाफामा उल्लेख्य सुधार आए पनि उच्च निष्क्रिय कर्जा, ठूलो सञ्चित नोक्सानी र घट्दो ब्याज आम्दानी बैंकका लागि अझै प्रमुख चुनौतीका रूपमा देखिएका छन्।


































