काठमाडौं। वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। नयाँ प्रकाशित ब्याजदर अनुसार केही बैंकहरुले भदौ महिनाको तुलनामा ब्याजदर बढाएका छन् भने केही बैंकहरुले घटाएका छन्।
हिमालयन बैंक, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट मेगा, प्राइम कमर्सियल र नबिल बैंकले निक्षेप ब्याज दर बढाएका हुन्। बैंकहरुले प्रकाशित गरेको नयाँ दरमा सबैभन्दा बढी निक्षेप प्राइम कमर्सियल बैंकले व्यक्तिगत निक्षेपमा ११.३५८ प्रतिशत ब्याज दिएको छ भने संस्थागतमा ९.३५८ प्रतिशत दिएको छ।
व्यक्तिगततर्फ ११ प्रतिशत र संस्थागत तर्फ बैंकहरुले ९ प्रतिशत ब्याजदर कायम गरेका छन्। बैंकहरुले निक्षेपको ब्याजदर बढाएपछि ऋणको ब्याज पनि बढ्नेछ।
प्रभु बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् अर्थात यी ४ बैंकहरुले ब्याजदरमा कुनै परिर्वतन गरेका छैनन्।
यता ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, सिटिजन्स बैंक र नेपाल बैंकले ब्याजदर घटाएका छन्। जसमध्ये नेपाल बैंकले सबैभन्दा बढी १.६०३ प्रतिशतविन्दु ब्याज घटाएको छ।



































