काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। राष्ट्र बैंकले बैंकको सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा नजिकबाट अनुगमन गरिरहेको बताएको छ।
राष्ट्र बैंकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध अदालतमा अभियोगपत्र दायर भएको विषय जानकारीमा आएपछि बैंकको अवस्थाबारे निगरानी बढाइएको हो। विद्यमान कानुनी व्यवस्थाका सम्बन्धमा आवश्यक राय तथा सुझाव लिनेसमेत प्रक्रिया अघि बढिरहेको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार हाल बैंकको तरलताको अवस्था तथा वित्तीय सबलताका परिसूचकहरू तोकिएको मापदण्डअनुसार सन्तोषजनक रहेका छन्। बैंकको दैनिक कार्य सञ्चालनमा कुनै पनि प्रकारको जटिलता उत्पन्न हुने अवस्था नदेखिएको राष्ट्र बैंकको भनाइ छ।
अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा बैंकको दैनिक सञ्चालनमा तत्काल असर नपरे पनि मुद्दाको प्रकृति, समयावधि तथा गाम्भीर्यलाई आधार बनाएर थप छलफल र कानुनी राय लिइने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले आवश्यक कानुनी प्रक्रिया पूरा गरी बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापन तथा बैंक सञ्चालनका सम्बन्धमा आवश्यक कदम चालिने स्पष्ट पारेको छ।
केन्द्रीय बैंकले बैंकिङ प्रणालीको स्थायित्व र सर्वसाधारणको हितलाई ध्यानमा राख्दै आवश्यक निगरानी तथा नियामकीय प्रक्रिया निरन्तर अघि बढाउने जनाएको छ।































