काठमाडौँ । नयाँ वर्ष २०८१ सालको आगमन र चैत्र महिनाको समापनसँगै वाणिज्य बैंकहरुले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। प्रकाशित सूचना अनुसार चैत महिनाको तुलनामा वाणिज्य बैंकहरुको औषत ब्याजदर सामान्य घटेको छ।
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये १३ वाणिज्य बैंकहरुले यस्तो निक्षेपमा अधिकतम ब्याजदर घटाएका कारण औषत ब्याजदर सामान्य घट्न गएको छ ।
व्यक्तिगत मुद्दती निक्षेपमा चैत महिनामा औषतमा अधिकतम ७.२५ प्रतिशत विन्दुका दरले ब्याज दिइरहेका बैंकहरुले वैशाख महिनामा औषतमा अधिकतम ७.०७ प्रतिशत विन्दुका दरले ब्याज दिने भएका छन्।
५ वटा बैंकहरुले चैत महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने दुई बैंकहरुले ब्याजदर बढाएका छन्। त्यसैगरी, संस्थागत मुद्दती निक्षेपको अधिकतम औषत ब्याजदर ०.१३ प्रतिशत विन्दु घटेको छ। चैत्रमा ६.०० प्रतिशत विन्दु रहेको यस्तो निक्षेपमा बैंकहरुको औषत ब्याजदर वैशाखका लागि घटेर ५.८१ प्रतिशत विन्दुमा झरेको तथ्याकंमा उल्लेख छ ।
वैशाख महिनामा २० वाणिज्य बैंकहरुमध्ये एनएमबि बैंकले सबैभन्दा बढी ब्याज दिने भएको छ। उक्त बैंकले ५ वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत निक्षेपमा ७.९७ प्रतिशतका दरले ब्याज दिने उल्लेख गरेको छ।
त्यस्तै, व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा कम ब्याज दिने बैंक कृषि विकास बैंक रहेको छ। उक्त बैंकले अधिकतममा ५.६६६१ प्रतिशतका दरले ब्याज दिनेछ।
वैशाख महिनाका लागि ब्याजदर बढाउने दुई बैंकमा एभरेष्ट बैंक र एनएमबि बैंक रहेका छन्। एनएमबि बैंकले चैत्र महिनाको तुलनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ०.९७ प्रतिशत विन्दु बढाएको हो भने एभरेष्टले ०.५ प्रतिशत विन्दु बढाएको सार्वजनिक तथ्याकंमा उल्लेख छ।
बैंकहरुले व्यक्तिगत मुद्दतीमा तोकेको अधिकतम ब्याजदर
| बैंक | ब्याजदर चैत | ब्याजदर बैशाख |
| कृषि विकास | ५.६६ | ५.६६ |
| एभरेष्ट | ६.५ | ७ |
| नेपाल | ७ | ६.७५ |
| लक्ष्मी सनराइज | ७.५ | ७ |
| माछापुच्छ्रे | ७.७५ | ७.२५ |
| एनआईसी एसिया | ८.५४८ | ७.७५ |
| प्रभु | ७.५ | ७ |
| स्टान्डर्ड चार्टर्ड | ७ | ७ |
| राष्ट्रिय वाणिज्य | ७ | ६.५५ |
| नबिल | ७.२५ | ७.२५ |
| ग्लोबल आईएमई | ७.६ | ७ |
| सिद्धार्थ | ७.५ | ७.२५ |
| प्राइम कमर्सियल | ७.२५ | ७.१० |
| कुमारी | ७.५१ | ७.११ |
| सानिमा | ७.२५ | ७.१० |
| हिमालयन | ७.५ | ७.५ |
| नेपाल एसबीआई | ७.०१ | ६.५३ |
| नेपाल इन्भेष्टमेन्ट | ७ | ७ |
| एनएमबी | ७ | ७.९७ |
| सिटिजन्स | ७.७५ | ७.५ |
| सरदर | ७.२५ | ७.०६ |


































