काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आफूमाथि लागेका भ्रष्टाचारसम्बन्धी आरोपहरूको कडा प्रतिवाद गर्दै कुनै पनि अनियमितता प्रमाणित भए मन्त्री पद मात्र होइन, सार्वजनिक जीवन नै त्याग्न तयार रहेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले केही सञ्चारमाध्यममा आएका २ अर्ब रुपैयाँसम्मको अनियमितताको आशंकालाई निराधार भन्दै खण्डन गरे ।
उनका अनुसार यदि आफूबाट २ रुपैयाँ बराबरको पनि गलत काम प्रमाणित भए पद छोड्न तयार रहेको उनको स्पष्ट भनाइ छ ।
भ्रष्टाचार आरोपको प्रतिवाद गर्दै अर्थमन्त्री डा.वाग्लेले भने, ‘तपाईंका काण्डबारे हामी अनभिज्ञ हो र ! ती पनि खुल्नेछन् ।’ विगतका भएका काण्डहरु खोल्नेतर्फ उनले इंगित गर्दै त्यस्तो अभिव्यक्ति दिएका हुन् ।
वाग्लेले सांसदहरूलाई पनि आफ्ना व्यवहार र अभिव्यक्तिमा जिम्मेवार बन्न आग्रह गर्दै सम्मानित संसदको गरिमा कायम राख्नुपर्ने बताए ।
उनले कर नीतिसम्बन्धी आरोपहरूको समेत खण्डन गर्दै सुशासन र पारदर्शिताप्रति सरकार गम्भीर रूपमा प्रतिबद्ध रहेको दाबी गरे ।
अर्थमन्त्री वाग्लेले बजेटलाई मात्र अन्तिम लक्ष्य नभई आर्थिक सुधारको प्रारम्भिक आधारका रूपमा लिनुपर्ने उल्लेख गर्दै सरकारले स्थायित्व र नयाँ आर्थिक दिशा खोजिरहेको बताए ।


































