आर्थिक भ्वाइस संबाददाता
काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाको बृहत्तर गुरुयोजना तयार गर्दै छ । उपत्यकाभित्रका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका भौतिक संरचना तथा विभिन्न पूर्वाधार निर्माण गर्न तथा दिगो विकासका निम्ति गुरुयोजना बनाइरहेको काठमाडौं उपत्यका विकास प्राधिकरणले जनाएको छ ।
उपत्यकाको आर्थिक, सामाजिक तथा भौतिक संरचनालाई व्यवस्थित बनाई आगामी दिनमा आधुनिक र व्यवस्थित सहरको विकास गरी भौतिक विकास गुरुयोजना बनाएर उपत्यका विकास गर्ने उद्देश्य अनुसार गुरुयोजना बनाइरहेको प्राधिकरणका सूचना अधिकारी ई। सौरभ ढकालले बताए ।
उनले गुरुयोजना आउँदो फागुनसम्म बनिसक्ने र छिट्टै लागु गर्ने बताए ।
गत आर्थिक वर्षमा ८० प्रतिशत काम सम्पन्न
यता प्राधिकरणले गत आर्थिक वर्षमा ८० प्रतिशत कार्य सम्पन्न गरेको छ । प्राधिकरणले ७५ प्रतिशत वित्तीय प्रगती गरेको उनले बताए । सडक बिस्तारमा १५ किलोमिटरको तोकिएको थियो जसमा ८० प्रतिशत काम सम्पन्न भएको प्राधिकरणका सूचना अधिकारी इन्जिनियर सौरभ ढकालले बताए । उपत्यकाका ३ वटै जिल्लामा १६ वटा पार्क मध्ये १४ वटा पार्क निर्माण भैसकेको , बाकी रहेका पार्कहरुको निर्माण भैरहेकोे रहेको उनको भनाई छ।
करिडोर खोल्ने र सडक बिस्तारका कार्यहरु
उनका अनुसार, चालु आर्थिक वर्षमा कोरिडोर खोल्ने, स्तर उन्नति गर्ने, सार्वजनिक जग्गा संरक्षण र सडक बिस्तारको कार्यहरु नै प्राथामिकतामा परेका छन् ।
तार्केश्वर र टोखा नगरपालिकाको सिमानामा साङ्ले खोला कोरिडोरको खोल्ने काम भएको छ । चालु आर्थिक वर्षमा गोदावरी खोलामा १५ लाख , साङ्ले खोलामा १५ लाख महादेव खोलाको करिडोरमा करिब १० करोड छुट्टाइएको छ । यसको निर्माण कार्य २० प्रतिशत सकिएको छ। चालु आर्थिक वर्षमा निर्माण सम्पन्न भइसक्ने उनले बताए । गोदावरी खोलामा केही विवाद भएका कारण अहिले काम रोकिएको उनको भनाई छ ।
त्यसै गरी सार्वजनिक जग्गा संरक्षण गरी पार्क बनाउने तथा सडक बिस्तारका काम तथा जग्गा एकिकरण, ल्याण्ड पुलिङको काम कसरी अगाडी बढाउने भनेर पालिकाहरूसँग समन्वय गरिरहेको उनको भनाई छ ।
टुक्रे आयोजनामै सिमित
काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकामा टुक्रे आयोजनामा केन्द्रित भएर काम गरिरहनु परेको सूचना अधिकारी ढकालको भनाई छ ।


































