काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले २०८३ साल जेठ महिनामा समस्याग्रस्त सहकारी संस्थाहरूबाट बचत फिर्ता, ऋण असुली तथा बचत मिलानको कामलाई तीव्रता दिएको जनाएको छ। समितिले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार जेठ महिनामा मात्रै १ हजार ४५२ जना बचतकर्तालाई कुल रकम फिर्ता गरिएको छ।
समितिका अनुसार १० हजार रुपैयाँभन्दा कम बचत भएका मागदाबीकर्तामध्ये ८ वटा समस्याग्रस्त सहकारीका १ हजार ४५२ बचतकर्तालाई ऋण असुलीबाट संकलित रकमबाट बचत फिर्ता गरिएको हो। फिर्ता रकममध्ये अधिकांश बचतकर्ताले १० हजार रुपैयाँसम्म प्राप्त गरेका छन्।
कुन-कुन सहकारीबाट भयो बचत फिर्ता ?
जेठ महिनामा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था, कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी, पशुपति सेभिङ एण्ड क्रेडिट, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, ओरेन्टल को–अपरेटिभ, गोरखा सेभिङ एण्ड क्रेडिट, शिव शिखर बहुउद्देश्यीय सहकारी तथा लालिगुराँस बहुउद्देश्यीय सहकारीका बचतकर्ताले रकम फिर्ता पाएका छन्।
सबैभन्दा धेरै ८६९ जना बचतकर्ता शिव शिखर बहुउद्देश्यीय सहकारीका रहेका छन्। त्यसपछि लालिगुराँस बहुउद्देश्यीय सहकारीका २१५ जना र कान्तिपुर सेभिङ एण्ड क्रेडिटका २१५ जना बचतकर्ताले रकम फिर्ता पाएका छन्।
ऋण असुलीमा पनि प्रगति
समितिको तथ्यांकअनुसार जेठ महिनामा १२ वटा समस्याग्रस्त सहकारीका ४३ ऋणीबाट कुल १ करोड २० लाख ४६ हजार रुपैयाँभन्दा बढी ऋण असुली गरिएको छ।
यस अवधिमा ४३ जना ऋणी तथा उनीहरूका परिवारका सदस्यहरूको बचत र ऋण मिलान गरी करिब ५१ लाख ३६ हजार रुपैयाँ बराबरको बचत मिलान गरिएको छ। बचत मिलानपछि करिब ५० लाख ६९ हजार रुपैयाँ बैंक बचत रकम बाँकी रहेको विवरणमा उल्लेख छ।
ऋण असुलीमा ओरेन्टल को–अपरेटिभ, तुलसी बहुमुखी सहकारी, कृषि विकास बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, शिव शिखर, स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट, लालिगुराँस, कान्तिपुर सेभिङ एण्ड क्रेडिट, गौतमश्री बहुउद्देश्यीय सहकारी, पशुपति सेभिङ एण्ड क्रेडिट, गोरखा सेभिङ एण्ड क्रेडिट तथा नेपाल सहकारी वित्तीय संस्था समावेश रहेका छन्।
साना बचतकर्तालाई प्राथमिकता
समितिले १० हजार रुपैयाँभन्दा कम बचत भएका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिरहेको जनाएको छ। हालसम्म १४ समस्याग्रस्त सहकारीमध्ये ८ सहकारीको सानो बचत फिर्ता प्रक्रिया सम्पन्न भइसकेको छ भने २ सहकारीमा फिर्ता कार्य जारी रहेको छ। थप ४ सहकारीका मागदाबीकर्ताको विवरण प्रमाणीकरण (Verification) भइरहेको कार्यालयले जनाएको छ।
४४ हजारभन्दा बढी निवेदन प्रमाणीकरणको चरणमा
समितिका अनुसार बचत फिर्ताका लागि बाँकी रहेका करिब ४४ हजार मागदाबीकर्ताको निवेदन प्रमाणीकरणको काम चरणबद्ध रूपमा भइरहेको छ। बचतकर्ताको मागदाबी दर्ता तथा संशोधनका लागि हेल्प डेस्क समेत सञ्चालनमा ल्याइएको छ।
सहकारी सञ्चालकको सम्पत्ति खोजी अभियान
समस्याग्रस्त सहकारीबाट अपचलन भएको रकम फिर्ता गराउन समितिले सम्बन्धित सहकारीका सञ्चालक, व्यवस्थापक तथा पूर्वपदाधिकारीहरूको सम्पत्ति खोजी कार्यलाई पनि अगाडि बढाएको जनाएको छ। यसका लागि रणनीतिक योजना सहित टोली परिचालन गरिएको उल्लेख छ।
नयाँ प्रणाली र व्यवस्थापन सुधार
समितिले ऋणीहरूको दायित्व गणना तथा व्यवस्थापनका लागि ‘लोन क्याल्कुलेसन म्यानेजमेन्ट सिस्टम (LCMS)’ विकास सम्पन्न गरी प्रयोगको तयारी थालेको जनाएको छ। कर्मचारीलाई प्रणाली सञ्चालन सम्बन्धी तालिम समेत प्रदान गरिएको छ।
त्यसैगरी अनलाइन मागदाबी प्रणालीमा सुधार गर्दै प्रमाणीकरण प्रक्रिया छिटो बनाउने, मागदाबीको एकीकृत विवरण सम्बन्धित निकायलाई उपलब्ध गराउने तथा बचतकर्ताले आफ्ना मागदाबीको अवस्था अनलाइनबाट हेर्न सक्ने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ।
१८९ निर्णय कार्यान्वयन
नयाँ समिति गठन भएपछि हालसम्म १८ वटा बैठक सम्पन्न भई १८९ वटा निर्णय गरिएको र तीमध्ये अधिकांश निर्णय कार्यान्वयन भइसकेको समितिले जनाएको छ। समितिले बचतकर्ता पीडित संघ, सहकारी सरोकारवाला तथा विभिन्न सरकारी निकायसँग नियमित समन्वय र सहकार्य गर्दै आएको पनि जनाएको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले साना बचतकर्तालाई प्राथमिकता दिँदै बचत फिर्ता, ऋण असुली र सम्पत्ति खोजीको कार्यलाई आगामी महिनाहरूमा अझ तीव्र बनाउने जनाएको छ।
कुनै सहकारी संस्थाको सम्पूर्ण सम्पत्तिको विवरण संकलन गरी त्यसको वास्तविक मूल्यका आधारमा दामासाही (अनुपातिक) रूपमा बचतकर्तालाई रकम फिर्ता गर्ने प्रस्ताव अघि आएको छ। साथै, पाँच लाख रुपैयाँभन्दा कम बचत भएका सदस्यहरूको रकम पहिले फिर्ता गरिसकेपछि मात्र सोभन्दा माथिका बचतकर्ताको भुक्तानी प्रक्रिया अघि बढाउनुपर्ने सुझाव पनि प्रस्तुत गरिएको छ।

































