काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जेठ महिनामा कर्जा असुली र बचत फिर्ता कार्यलाई तीव्र बनाएको जनाएको छ। सो अवधिमा समितिले १ करोड २० लाख रुपैयाँभन्दा बढी कर्जा असुली गर्दै ५९ लाख रुपैयाँ बचतकर्तालाई फिर्ता गरेको हो।
समितिका अनुसार १० हजार रुपैयाँभन्दा कम बचत भएका ८ सहकारीका १ हजार ४ सय ५२ जना साना बचतकर्तालाई रकम फिर्ता गरिएको छ। सम्बन्धित सहकारीबाट उठाइएको कर्जाबाटै बचतकर्तालाई भुक्तानी गरिएको जनाइएको छ।
त्यसैगरी १२ सहकारीका ऋणीबाट १ करोड २० लाख ४६ हजार रुपैयाँ असुली गरिएको छ भने १ सय २२ जनाको करिब ५१ लाख ५१ हजार रुपैयाँ बराबरको बचत मिलान गरिएको छ।
समितिले बचत फिर्ता, ऋण असुली तथा सम्पत्ति व्यवस्थापन कार्यविधि २०८३ लागू गर्दै पुनर्संरचना प्रक्रिया अघि बढाएको छ। सहकारी व्यवस्थापनका लागि सार्वजनिक सूचना जारी गर्नुका साथै नयाँ संगठनात्मक संरचना स्वीकृत गरी कर्मचारी व्यवस्थापनसमेत गरिएको छ।
समस्याग्रस्त सहकारीका ऋणीहरूको पहिचान, रोक्का र विवरण संकलन कार्य निरन्तर भइरहेको छ। बचत फिर्ताका लागि झन्डै ४४ हजार निवेदन प्रमाणीकरणको चरणमा रहेको पनि समितिले जनाएको छ।
हाल १४ सहकारीमध्ये ६ को साना बचतकर्ताको रकम फिर्ता भइसकेको छ भने बाँकी सहकारीमा मागदाबी प्रमाणीकरण तथा भुक्तानी प्रक्रिया जारी छ। बचतकर्ताको सेवा सहज बनाउन छुट्टै सहयोग कक्ष पनि सञ्चालनमा ल्याइएको छ।
यससँगै बचत अपचलनमा संलग्न व्यक्तिहरूको सम्पत्ति खोजीका लागि रणनीतिक रूपमा टोली परिचालन गरिएको समितिको भनाइ छ।
































