काठमाडौं । बैंकबाट स्थिर आम्दानी खोजिरहेका लगानीकर्ताका लागि प्राइम कमर्सियल बैंकले नयाँ अवसर सार्वजनिक गरेको छ। बैंकले आजदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन सुरु गरेको हो।
‘प्राइम बैंक डिबेञ्चर २०९३’ नाम दिइएको यस ऋणपत्रको प्रतिकित्ता मूल्य १ हजार रुपैयाँ तोकिएको छ र कुल ३० लाख कित्ता जारी गरिएको हो।
जारी गरिएको कुल ऋणपत्रमध्ये १८ लाख कित्ता निजी तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि खुला गरिने बैंकले जनाएको छ।
१० वर्ष अवधि रहेको यस ऋणपत्रमा वार्षिक ६.२५ प्रतिशत ब्याजदर प्रदान गरिनेछ।
लगानीकर्ताहरूले सि–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था र तिनका शाखाबाट आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रिया छिटोमा असार १९ गते र ढिलोमा असार ३० गतेसम्म खुला रहनेछ।
न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। यस ऋणपत्रको बिक्री प्रबन्धकको रूपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। बैंकले यसअघि नेपाल धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति प्राप्त गरिसकेको थियो।
































