काठमाडौँ। अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरिएको छ। कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयले उक्त सहकारीलाई आज समस्याग्रस्त घोषणा गरेको हो।
सुनसरीको इटहरीमा केन्द्रीय कार्यालय रहेको उक्त सहकारीलाई मन्त्रालयका सचिव डाक्टर शरणकुमार पाण्डेले समस्याग्रस्त घोषणा गरिएको जानकारी दिँदै अन्य समस्यामा रहेका सहकारीको विषयमा पनि अध्ययन भइरहेको जानकारी दिएका छन्।
कोशी प्रदेश सरकारले गत पुस १८ गते वरिष्ठ अधिवक्ता भरतबन्धु थापाको नेतृत्वमा संकटग्रस्त सहकारीको व्यवस्थापन समिति गठन गरेको थियो ।
अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष फणीन्द्र मगर अहिले पनि पुर्पक्षका लागि थुनामा पठाइएको छ भने पक्राउ परेका केही सञ्चालकहरू धरौटीमा रिहा भएका छन् । उक्त सहकारीको रकम अपचलनमा नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु कुमारी लिम्बू (अमृता सुब्बा) ले २१ लाख ५५ हजार अपचलन गरेको मुद्दा छ । १३ हजारभन्दा बढी सर्वसाधारणको ६१ करोड बढी बचत अपचलन गरेको देखिएको छ ।


































