काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले विद्युत् पूर्वाधार संरचना सुधार तथा विस्तारका परियोजनामा लगानी बढाउन एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) लाई अनुरोध गरेको छ ।
सोमबार भएको एआईआईबी सञ्चालक समितिका सदस्य बैंक सञ्चालक समितिका सदस्य सम्मिलित प्रतिनिधिमण्डलसँग भेटमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् प्रसारण र वितरणतर्फका पूर्वाधार सुधार तथा विस्तारमा सस्तो ब्याजदरमा लगानी बढाउन आग्रह गरेका छन् ।
नेपालको ऊर्जा क्षेत्रको रूपरेखा तथा लगानी आवश्यकता सम्बन्धी जानकारी प्रतिनिधिमण्डललाई गराउँदै कार्यकारी निर्देशक घिसिङले पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित विद्युत् आपूर्ति, छिमेकी देशहरूसँगको विद्युत् व्यापार विस्तारका लागि उत्पादन, प्रसारण र वितरणतर्फका संरचना निर्माण गर्न ठुलो लगानी आवश्यक रहेको बताए।
‘ऊर्जा मन्त्रालयले अगाडि बढाएको सन् २०३५ सम्मको ऊर्जा क्षेत्रको मार्गचित्र कार्यान्वयनका लागि विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरूका लागि झन्डै ६० अर्ब अमेरिकी डलर (निजी क्षेत्र लाईसहित) लगानी चाहिन्छ, यसका लागि एआईआईबीजस्ता बहुपक्षीय निकायहरूबाट सस्तो ब्याजदरमा सहुलियतपूर्ण ऋण आवश्यक छ’, कार्यकारी निर्देशक घिसिङले भने ।
घिसिङले भरपर्दो तथा गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित, ऊर्जा सङ्क्रमण तथा दक्षता, विद्युत् निर्यात वृद्धि, मौसमी विद्युत् उत्पादनको असन्तुलन न्यूनीकरणका लागि जलाशययुक्त आयोजनाहरूको निर्माण, वितरण तथा प्रसारण सञ्जाल विस्तार तथा सुधारलगायतका क्षेत्रमा हाल काम भइरहेको एआईआईबीको प्रतिनिधिमण्डललाई जानकारी गराएका थिए ।
प्रतिनिधिमण्डले ऊर्जा क्षेत्रका लागि आवश्यक पर्ने लगानी गर्न बैंक इच्छुक रहेको बताएको थियो । प्रतिनिधिमण्डलबाट हाल एआईआईबीको लगानीमा निर्माणाधीन आयोजनाहरूको प्रगति, वातावरणीय तथा सामाजिक सुरक्षणका विषयहरू, ऊर्जा क्षेत्रको पुनर्संरचना, विद्युत् निर्यातका लागि बजार सुनिश्चितता लगायतका विषयमा जिज्ञासा राखिएको थियो।
नेपाल कोतर्फबाट एआईआईबी सञ्चालक समितिका सदस्य एवम् अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालले ऊर्जा क्षेत्रको विकासका लागि बैंककातर्फबाट सस्तो ब्याजदरमा सहुलियतपूर्ण ऋण उपलब्ध गराइनु पर्नेमा जोड दिएका छन् ।
एआईआईबीले हाल विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार परियोजना कार्यान्वयनका लागि ११ करोड २३ लाख डलर सहुलियतपूर्ण ऋण नेपाललाई उपलब्ध गराएको छ । परियोजनामार्फत प्राप्त सहुलियतपूर्ण ऋण लुम्बिनी प्रदेशका दाङ, बाँके बर्दिया तथा रोल्पा र कर्णाली प्रदेशका ८ जिल्लाको विद्युतीय तथा वितरण प्रणाली विस्तार र सुधारमा खर्च गरिंदैछ ।
परियोजनाबाट १९ वटा ३३र११ केभी वितरण सबस्टेसन, ३५० किलोमिटर ३३ केभी लाइन,१७९८ किलोमिटर ११ केभी लाइन, ३ हवा १५९ किलोमिटर एलटी लाइन निर्माण र १ हजार ४५ वटा वितरण ट्रान्सफर्मर जडान गरिने छ । उक्त परियोजना कार्यान्वयनका लागि ठेक्का सम्झौता र परियोजनाको डिजाइन सम्पन्न भइसकेका छन् ।


































