काठमाडौँ। बिहीबार रातिदेखि परेको अविरल वर्षाको कारण कारण विभिन्न जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुगेको छ।
निरन्तरको वर्षाले चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, २२ मेगावाटको माण्डु जलविद्युत् आयोजना, २२ दशमलव एक मेगावाटको हेवाखोला जलविद्युत् आयोजनामा हेडबक्स र पावर हाउसमा क्षति पुर्याएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।
वर्षा पछिको बाढीले रसुवामा निर्माणाधीन दुई सय १६ मेगावाटको माथिल्लो त्रिशूली दुई जलविद्युत् आयोजनाको भौतिक संरचना र उपकरणमा क्षति पुगेको छ । भने निर्माणाधीन अपर तामाकोशी जलविद्युत् आयोजनामा कार्यरत पाँच जना श्रमिक सम्पर्कविहीन छन्।
त्यस्तै, बाढीले सोलु कोरिडोर, कोशी कोरिडोरको प्रसारण लाइनमा समेत क्षति पुगेको छ । नेपालमा उत्पादित विद्युत् गृहहरूमा बाढी पहिरोले क्षति पुगेपछि भारतबाट थप तीन सय मेगावाट विद्युत् आयात गरिएको प्राधिकरणले जनाएको छ।
बाढीले यता खिम्ती लामोसाँघु प्रसारण लाइनमा क्षति पुगेको छ । उक्त प्रसारण लाइनको ७ नम्बर टावर बाढीले बगाउँदा काठमाडौँ आउने विद्युत् लाइन अवरुद्ध भएको प्राधिकरणले जनाएको छ । यसैगरी दमकदेखि गोदकसम्मको प्रसारण लाइनमा समेत क्षति पुगेको छ ।
यसअघि शुक्रवार राति ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अविरल वर्षाका कारण ठूलो धनजनको क्षति हुनेतर्फ सचेत रहँदै खोलाको किनारामा बस्ने तथा पहिरोको वरपर बस्ने बासिन्दालाई सतर्क रहन आग्रह गरेका थिए ।
नेपालमा तीन हजार मेगावाट हाराहारीमा विद्युत् उत्पादन हुँदै आएकामा दुई दिनको बाढी पहिराले क्षति पुगेपछि अहिले एक हजार ३०० मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको प्राधिकरणले जानकारी दिएको छ । साथैपानी पर्ने सम्भावना कायम रहेको भन्दै थप सतर्कता अपनाउन मौसम पूर्वानुमान शाखाले जानकारी दिएको छ ।

































