काठमाडौं। नेपालीहरूको नयाँ वर्ष २०८३ सुरु भएको छ। नयाँ वर्ष केवल पात्रो फेरिने दिन मात्र होइन, नयाँ सोच, नयाँ लक्ष्य र नयाँ योजनासहित जीवनलाई अगाडि बढाउने अवसर पनि हो।
नयाँ वर्ष लागेसँगै सरकारले आगामी आर्थिक वर्षका नीति, कार्यक्रम र बजेट निर्माणतर्फ ध्यान केन्द्रित गर्ने तयारी गर्छ भने निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था र व्यवसायीहरूले आफ्नो वार्षिक रणनीति तय गर्न थाल्छन्। त्यस्तै, सर्वसाधारणले पनि व्यक्तिगत तथा पारिवारिक लक्ष्यहरू निर्धारण गर्ने, खर्च व्यवस्थापन गर्ने र आम्दानी बढाउने उपायहरू खोज्ने गर्दछन्।
नयाँ वर्षका लागि तपाईंले पनि विभिन्न योजना त बनाउनुभएको नै होला। यसैबीच आज हामी नयाँ वर्षमा आफ्नो आर्थिक स्थिति कसरी सबल बनाउने र कसरी आम नेपालीहरूले वित्तीय स्वतन्त्रता प्राप्त गर्न सक्छन् भन्ने विषयमा चर्चा गर्नेछौँ।
आर्थिक क्षेत्रका विज्ञहरूसँग कुराकानी गरी बुझ्दा २०८३ आर्थिक रूपमा चुनौती र अवसर दुवै लिएर आएको वर्ष हो। एकातर्फ निर्वाचन सम्पन्न भएपछि राजनीतिक स्थिरताको संकेतका कारण देशमा गरिखाने माहोल बन्दै गइरहेको छ कि भन्ने आशा पलाउँदैछ भने अर्कोतिर पछिल्ला विश्व घटना र युद्धका कारण त्यसको असर समग्र विश्वसँगै नेपाली अर्थतन्त्रमा पनि पर्ने चिन्ता छ।
यही बीचका हरेक आम नेपालीले समृद्धिको यात्रा कसरी अगाडि बढाउने होला तरु आर्थिक भ्वाइसले नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकसमेत रहेका अर्थविद् नर बहादुर थापासँग कुराकानी गरेको छ।
“सन्तुलित लगानी र स्पष्ट योजना बिना वित्तीय स्वतन्त्रता सम्भव छैन” : अर्थविद् थापा
आर्थिक समृद्धि हासिल गर्न के–कस्ता वित्तीय निर्णय आवश्यक हुन्छन् भन्ने विषयमा गरिएको कुराकानीमा अर्थविद् नर बहादुर थापाले व्यक्तिगत वित्तीय अनुशासन, लगानीको सन्तुलन र आम्दानीका स्रोत विस्तारलाई मुख्य आधारका रूपमा लिनुपर्ने बताएका छन्।
उनका अनुसार, “धनी बन्ने चाहना सबैको हुन्छ, तर त्यो हासिल गर्न स्पष्ट योजना, प्रतिबद्धता र सही निर्णय आवश्यक हुन्छ।”
आर्थिक सफलताको पहिलो पाइला : बचत र बजेट
थापाले आर्थिक समृद्धिको सुरुवात बचत र खर्च नियन्त्रणबाटै हुने बताए। उनका अनुसार प्रत्येक व्यक्तिले आफ्नो आयअनुसार खर्च व्यवस्थापन गर्दै बजेट निर्माण गर्नुपर्छ।
“व्यक्तिले आफ्नो भविष्यका लागि नियमित बचत गर्नुपर्छ। त्यसका लागि खर्चमा नियन्त्रण गर्दै परिवारस्तरमै स्पष्ट बजेट बनाउने बानी बसाल्नुपर्छ,” उनले भने।
केवल बचत मात्र होइन, शिक्षा र स्वास्थ्यमा गरिएको लगानी पनि दीर्घकालीन सम्पत्ति निर्माणको आधार बन्ने थापाको भनाइ छ।
लगानीमा सन्तुलन आवश्यक : उच्च प्रतिफलसँगै जोखिम पनि बुझ्नुपर्छ
अर्थविद् थापाका अनुसार बचत गरेको रकमलाई सही ठाउँमा लगानी गर्नु सबैभन्दा महत्वपूर्ण पक्ष हो। लगानी गर्दा उच्च प्रतिफल मात्र होइन, जोखिम र दीर्घकालीन लाभलाई समेत ध्यान दिनुपर्ने हुन्छ।
“केही क्षेत्रमा तत्काल प्रतिफल राम्रो आउँछ भने केही क्षेत्रमा दीर्घकालीन पुँजीगत लाभ हुन्छ। यी दुईबीच सन्तुलन मिलाउन सके मात्रै सम्पत्ति अधिकतम बनाउन सकिन्छ,” उनले स्पष्ट पारे।
उनले अन्धाधुन्ध लगानी गर्दा घाटा हुने जोखिम पनि औंल्याउँदै सचेत हुन सुझाव दिए।
आम्दानी बढाउन बहुआयामिक स्रोत आवश्यक
एक मात्र आम्दानी स्रोतमा निर्भर हुनु जोखिमपूर्ण हुने भन्दै थापाले आम्दानीका स्रोत विविधीकरण गर्नुपर्ने बताए।
“एक मात्र आयस्रोतमा निर्भर हुनु सुरक्षित हुँदैन। व्यक्तिले आफ्नो क्षमता अनुसार विभिन्न आम्दानीका स्रोत पहिचान गर्नुपर्छ, जस्तै सेयरमा लगानी गर्न सकिन्छ, पार्ट टाइम जागिर वा अन्य केही व्यवसाय,” उनले भने।
उनका अनुसार सीप विकास, साना व्यवसाय, स्वरोजगार र अतिरिक्त काम जस्ता उपायले आम्दानी वृद्धि गर्न सहयोग पुर्याउँछ।
परिवारभित्र सहकार्य र दीर्घकालीन योजना आवश्यक
थापाले आर्थिक समृद्धि केवल व्यक्तिगत प्रयासले मात्र सम्भव नहुने बताउँदै परिवारभित्रको समन्वय र सहकार्यलाई पनि उत्तिकै महत्वपूर्ण मानेका छन्।
“परिवारभित्र खुला छलफल, साझा लक्ष्य र दीर्घकालीन योजना बनाएर अघि बढेमा आर्थिक उन्नति सम्भव हुन्छ,” उनले भने।
उनले ५ वर्षदेखि १० वर्षसम्मका दीर्घकालीन रणनीति बनाउँदै परिवारका सदस्यहरूको क्षमता अनुसार भूमिका बाँडफाँट गर्न सुझाव दिए।
ग्लोबल अवसरहरूको उपयोग गर्न सुझाव
हालको विश्व परिवेशलाई ध्यानमा राख्दै थापाले ग्लोबल अवसरहरू उपयोग गर्नुपर्ने आवश्यकता औंल्याए।
देशभित्र अवसर खोज्ने, सम्भव नभए विदेशमा सीप, शिक्षा र अनुभव हासिल गर्ने तथा त्यसलाई पुनः आयआर्जनमा प्रयोग गर्ने जस्ता रणनीतिले परिवारको समग्र आर्थिक स्तर उकास्न मद्दत गर्ने उनको भनाइ छ। हाल देशमै बसेर पनि विदेशको काम कम्प्युटरबाट गर्न सकिने प्रणालीप्रति पनि उनले ध्यानाकर्षण गराए।
अर्थविद् थापाका अनुसार नयाँ वर्ष केवल संकल्प गर्ने समय मात्र होइन, त्यसलाई कार्यान्वयन गर्ने अवसर पनि हो।
“स्पष्ट लक्ष्य, वित्तीय अनुशासन, बचत, सन्तुलित लगानी र विविध आम्दानी स्रोत लगायतका आधार अपनाउन सके आर्थिक स्वतन्त्रता हासिल गर्न सकिन्छ,” उनले निष्कर्ष दिए।
नयाँ वर्ष २०८३ मा प्रत्येक नेपालीले यिनै आधारलाई आत्मसात गर्दै अघि बढ्न सके व्यक्तिगत मात्र होइन, समग्र अर्थतन्त्रमा पनि सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ।


































